काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउने नागरिकप्रति आक्रोशित हुँदै धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडिओ सार्वजनिक भएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ।
कैलालीको लम्कीचुहा अस्पतालको सेवा, सञ्चालन र देखिएका समस्याबारे आयोजित छलफल कार्यक्रममा सहभागी भएका सांसद खनालले एक स्थानीयले प्रश्न उठाएपछि आक्रोशित प्रतिक्रिया दिएका हुन्।
सार्वजनिक भएको भिडिओमा सांसद खनालले औँला ठड्याउँदै, “कल्ले भन्यो? प्रमाण छ? जाक्छु समाएर, अनि थाहा हुन्छ,” भन्दै धम्कीपूर्ण शैलीमा बोलेको सुनिन्छ। त्यसक्रममा उनले, “यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ। अनाधिकृत रूपमा बोल्न मिल्छ? कल्ले फोन गर्यो? प्रमाण छ तपाईंसँग?” भन्ने अभिव्यक्ति पनि दिएका छन्।
निर्वाचन क्षेत्रमा पुगेका सांसदसँग स्थानीयले अस्पताल सञ्चालन, सेवा प्रवाह तथा व्यवस्थापनसम्बन्धी जिज्ञासा र गुनासा राख्ने क्रममा यस्तो अवस्था सिर्जना भएको बताइएको छ।
उक्त भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै सांसद खनालको व्यवहारप्रति विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ। जनप्रतिनिधिले नागरिकका प्रश्न र गुनासालाई संयमतापूर्वक सुन्नुपर्ने अपेक्षा विपरीत धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा आलोचनात्मक प्रतिक्रिया आइरहेका छन्।
छलफलका क्रममा भने सांसद खनालले लम्कीचुहा अस्पताल नियमित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए।
उनले अस्पताल सञ्चालनको जिम्मेवारी स्थानीय र प्रदेश सरकारले लिनुपर्ने तथा प्रदेश सरकारले सञ्चालन गर्न नसके संघ सरकारले आवश्यक पहल गर्ने बताएका थिए।
यद्यपि, सार्वजनिक भएको भिडिओबारे सांसद खनालले हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।






