काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पार्किङ गरी राखिएको विद्युतीय कारभित्र एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक तारकेश्वर नगरपालिका–९, शुभकामना चोक निवासी ४५ वर्षीया रश्मी रिजाल हुन् ।
उनी नक्सालस्थित Sanima Capital Limited मा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्।
शनिबार दिउँसो करिब १ बजे तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे, चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक पार्किङ गरी राखिएको बीएई ०४१० नम्बरको विद्युतीय कारको पछाडिको सिटमा जलेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
पारिवारिक स्रोतका अनुसार रिजाल साउन ८ गते बिहानदेखि परिवारको सम्पर्कमा रहेकी थिइनन्। शव फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बालाजुको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।
कारभित्र जलेको अवस्थामा शव भेटिएकाले प्रहरीले घटनाको प्रकृति र मृत्युको कारणबारे विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्नेछ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।






