काठमाडौं । गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ।
गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो।
सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै उनीमाथि पनि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको थियो।आलोचनापछि ट्राफिक प्रहरीले उनीमाथि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा ५ सय रुपैयाँ जरिबाना गरेको हो।
घटनापछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत क्षमायाचना गर्दै आफूबाट उत्साह र रमाइलोका क्रममा अनजानेमा ट्राफिक नियम उल्लंघन भएको स्वीकार गरेका छन्।
उनले भविष्यमा यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाउँदै देश र जनताको हितमा आफ्नो ऊर्जा समर्पित गर्ने बताएका छन् ।






