बाँदर हेर्ने जागिर खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब

काठमाडौं । बाँदरका कारण किसानले भोग्दै आएको बाली क्षति न्यूनीकरण गर्न अर्घाखाँचीमा २० जना बाँदर हेराला नियुक्त गरिने भएको छ। डिभिजन वन कार्यालय अर्घाखाँचीले सूचना प्रकाशित गर्दै बाँदर प्रभावित क्षेत्रमा दुई महिनाका लागि हेराला नियुक्त गर्न आवेदन आह्वान गरेको हो।

यो कार्यक्रम जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरिरहेका समूहहरूको लागत साझेदारीमा सञ्चालन गरिने कार्यालयले जनाएको छ।

नियुक्त गरिएका हेरालाले बाँदरको नियमित निगरानी गर्ने, किसानलाई समयमै सूचना दिने, बालीमा भएको क्षतिको अभिलेख राख्ने तथा मानवीय र वातावरणमैत्री तरिकाले बाँदरलाई खेतीयोग्य क्षेत्रबाट प्राकृतिक बासस्थानतर्फ धपाउने जिम्मेवारी पाउनेछन्।

हेरालाका लागि सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्ने, उमेर १८ देखि ४५ वर्षभित्र हुनुपर्ने तथा वन, वन्यजन्तु र जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने डिभिजन वन कार्यालयले जनाएको छ।

सामुदायिक वन, वन हेराला, नर्सरी हेराला वा यस्तै प्रकृतिको काममा अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने कार्यालय प्रमुख नारायणदेव भट्टराईले बताएका छन्।

हेरालाको कार्यअवधि साउन १० गतेदेखि असोज १० गतेसम्म अर्थात् दुई महिना रहनेछ।

उनीहरूले मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक पाउनेछन्। इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काका अनुसार पछिल्ला वर्षहरूमा बाँदरका कारण मकै, तरकारी तथा फलफूल बालीमा ठूलो क्षति हुँदै आएको छ।

किसानको उत्पादन जोगाउने, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने तथा मानव र वन्यजन्तुबीच सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले हेराला नियुक्तिको कार्यक्रम सुरु गरिएको कार्यालयले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top