काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद रचना खतिवडाले सरकारलाई सफल बनाउनभन्दा असफल बनाउन खोजिएको टिप्पणी गरेकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कुनै पनि राजनीतिक दल एकै पटक परिपक्व नहुने बताएकी छन्।
जनताको विश्वास र समर्थनले मात्रै पार्टी बलियो बन्दै जाने जिकिर गरेकी छन्।
सांसद खतिवडाले शहीद तथा घाइतेलाई न्याय दिलाउने र जनहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका गृहमन्त्रीलाई सदनमै भावुक बन्नुपर्ने अवस्था सिर्जना गरिएको टिप्पणी गरेकी छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा समेत रहेकी उनले शहीद र घाइतेको पीडामाथि राजनीति गरिएको आरोप लगाएकी छन्।
उनले विगतका घटनामा निर्दोष नागरिकमाथि हिंसा हुँदा किन आवाज नउठेको भन्दै विपक्षी सांसदहरूमाथि प्रश्न उठाएकी छन्। साथै, आन्दोलनका घाइतेहरूको अवस्थाप्रति संवेदनशील हुन सबैलाई आग्रह गरेकी छन्।
सांसद खतिवडाले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियानलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेकी छन्।
साथै, संसदमा सरकारविरुद्ध लगाइने ‘मुर्दावाद’ नाराको प्रतिवाद गरेकी छन्। उनले “यो सरकार मुर्दावाद होइन, जिन्दावाद हो” भनेकी छन्।






