काठमाडौं ।उत्पादनको उचित मूल्य नपाएको भन्दै तार्केश्वर–धर्मस्थली क्षेत्रका किसानहरूले बुधबार माइतीघर मण्डलामा गोलभेडा सडकमा छरेर विरोध प्रदर्शन गरेका छन्।
किसानहरूले ‘हरियो क्रान्ति’ लेखिएको ब्यानर बोकेर कृषि क्षेत्रका विभिन्न समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए।
उनीहरूले उत्पादनको लागतसमेत उठ्न नसकेको, बजारसम्म सहज पहुँच नभएको र बिचौलियाको दबाबका कारण किसान निरन्तर घाटामा परेको गुनासो गरेका छन्।
विरोध प्रदर्शनका क्रममा किसानहरूले न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि उपजको सुनिश्चित बजार व्यवस्था, सहज कृषि ऋण, समयमै मल–बिउ उपलब्ध गराउने व्यवस्था तथा कृषि बीमाको प्रभावकारी कार्यान्वयनको माग गरेका छन्।
सडकभरि गोलभेडा छरेर किसानहरूले खेतमा पसिना बगाएर उत्पादन गरेको उपजले उचित मूल्य नपाउँदा सडकमा फाल्नुपर्ने बाध्यता सिर्जना भएको बताएका छन्।
कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यवहारिक र किसानमैत्री नीति ल्याउन सरकारसँग उनीहरूको माग छ।
किसानहरूको प्रदर्शनका कारण केही समय माइतीघर क्षेत्रको यातायातसमेत प्रभावित भएको थियो।
प्रदर्शनकारीहरूले कृषि उत्पादनको मूल्य निर्धारण र बजारीकरणमा देखिएको समस्या तत्काल समाधान नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।






