काठमाडौं । सङ्घीय राजधानी काठमाडौंलाई बाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग शुक्रवार दिउँसोबाट सञ्चालनमा आएको छ । असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षासँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।

सडक दुईतर्फी रूपमा भने आइतबारबाट सञ्चालनमा आउने सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले बताए ।
अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइभर्सन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो । बाढी पहिरोले काभ्रेको चौकी डाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो ।

काभ्रेको कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार (बोक्सीकुना), कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्ती (तल्लो)मा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक (झोलुङ्गे पुल)मा सडक क्षति पुगेको थियो ।







