एजेन्सी । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको सूची सार्वजनिक भएको छ । उक्त सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि विपिनसहित २ जनाको अवस्था अज्ञात रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिनको नाम पनि समावेश छ । मृतक २६ बन्धकमा सन् २०१४ मा मारिएका एक इजरायली सैनिक पनि समावेश छन्।
शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ देखि सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने आशा जगाएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा ६७ हजार प्यालेस्टिनी मारिएका छन्। इजरायली कारबाहीमा ज्यान गुमाउने आधा महिला र बालबालिका छन्। गाजाको २० लाख जनसंख्याको ९० प्रतिशत जनसंख्या विस्थापित भएको बताइएको छ ।
२५१ मध्ये गाजामा हाल ४८ बन्धक छन्। इजरायलले २५ बन्धक मारिएको बताएको छ। शुक्रबार भएको युद्धविरामसँगै सोमबार बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ।
बिपिन गाजामा अहिले जीवित एकमात्र गैर–इजरायली बन्धक हुन्।
बिपिनसँगै गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चैम ओहाना, एलोन ओहेल, अविनाटन ओर, मातान जंगाउकरको नाम सूचीमा समावेश छ ।






