बाँकेमा धान खेती क्षेत्र घट्यो, उत्पादन बढ्यो

बाँके । बाँके जिल्लामा धान खेती गर्ने क्षेत्र घट्दै गए पनि गत वर्षको तुलनामा उत्पादनमा भने वृद्धि भएको छ । यस वर्ष ३४ हजार ७११ हेक्टरमा धान खेती गरिएकोमा प्रति हेक्टर ४।६ मेट्रिक टन उत्पादन भई कुल एक लाख ६० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्रसार अधिकृत खडका बस्नेतले बताए ।
उनका अनुसार, गत वर्ष ३४ हजार ५०२ हेक्टरमा धान खेती गरिएकोमा प्रति हेक्टर ४।२ मेट्रिक टनका दरले एक लाख ४५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष सुरु देखिनै अनुकूल मौसमले समयमा रोपाइँ हुनुका साथै वर्षामा क्षति पनि नभएकाले यस वर्ष गत वर्षभन्दा १५ हजार मेट्रिक टन बढी धान उत्पादन हुने भएको छ ।
यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका किसानबाट धान खरिदका लागि मूल्य निर्धारण गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङको अध्यक्षतामा मङ्लबार बसेको प्राथमिक खरिद समितिको बैठकले मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानप्रति क्विन्टल  तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने गरी मूल्य निर्धारण गरेको हो ।
मूल्य निर्धारणको काम गरिए पनि आन्तरिक तयारी गरी आइतबारदेखि मात्रै किसानबाट धान खरिद सुरु गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका प्रमुख रामशरण लामिछानेले जानकारी दिए ।
उनका अनुसार जिल्लामा यस वर्ष मोटा धान १५ हजार क्विन्टल र मध्यम धान पाँच हजार क्विन्टल किसानबाट खरिद गर्ने निर्णय भएको छ । गोदाम व्यवस्थापनलगायतका अन्य प्राविधिक काम सकेर आइतबारदेखि किसानबाट धान खरिद गर्ने तयारी भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top