काठमाडौं ।मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन शिक्षकसहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, विज्ञान विषयका शिक्षक किशोरलाल गच्छदार, बस चालक प्रदीप भट्टराई तथा नृत्य प्रशिक्षक भीमप्रसाद नेपाल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेकामाथि बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्नता देखिएपछि नृत्य प्रशिक्षक नेपाललाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि सामाजिक सञ्जाल तथा विद्यालय परिसरमा विद्यार्थीमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको छ।
पीडित छात्राहरूले शिक्षकहरूले रातिको समयमा फोन तथा सन्देशमार्फत गोप्य अंग देखाउन, फोटो पठाउन दबाब दिने, तथा परीक्षामा बढी अंक दिलाइदिने प्रलोभन देखाएर भेट्न बोलाउने गरेको गुनासो गरेका छन्।
विद्यालय स्रोतका अनुसार पक्राउ परेका चारै जना एकअर्काका चिनजानका हुन्। उनीहरूले संगठित रूपमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको आशंका गरिएको भए पनि त्यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटना सार्वजनिक भएपछि विद्यार्थीहरूले आन्दोलनको तयारी गरेका थिए। आन्दोलनअघि शिक्षकहरूले पठाएका भनिएका सन्देशहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै विद्यालय प्रशासनले पक्राउ परेका चारै जनालाई निलम्बन गरेको छ।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाउँदै अनुसन्धानबाट थप संलग्नता देखिए अन्य व्यक्तिलाई पनि कानुनी दायरामा ल्याइने जनाएको छ। साथै, घटनाको प्रकृति र संलग्नताको विषयमा अनुसन्धान पूरा भएपछि मात्र थप विवरण सार्वजनिक गरिने प्रहरीले स्पष्ट पारेको छ।






