लन्डन- नेपथ्यले १२ वर्षअघि जुन हलमा मानक खडा गरेको थियो, त्यही हलमा अझ ठूलो सफलतासाथ नयाँ इतिहास रचना गरेको छ । बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा शनिबार बेलुकी खचाखच १० हजार दर्शकमाझ नेपथ्यले भव्य प्रस्तुति दिएको छ ।
विश्वकै व्यस्त सहरमा आयोजित कन्सर्टलाई दर्शकले उत्सव जस्तै बनाए र त्यसमा उनीहरू सुरुदेखि अन्त्य सम्मै रमाए।
कन्सर्टको माहोल बुझ्न दर्शक मन्जरी दवाडी (फेसबुकमा एन्जल मन्जरी) कै भिडियो पोस्टहरू पर्याप्त छन् । भिडियो पोस्टमा उनी हलबाहिर विशाल परिसरको वातावरण र लामबद्ध दर्शक देखाउँछिन् । त्यसपछि हलभित्र दर्शकको अपार उपस्थिति देखेर उनमा उत्साह पनि बढ्दै जान्छ । कन्सर्ट सुरु हुनै लाग्दा प्रस्तुत म्युजिक भिडियोमा बजेको ‘सा कर्णाली’ गीत सुनेपछि र अघिल्तिर नेपालका दृश्यहरू देखेपछि मन थाम्न सक्दिनन्– आँसु बग्छ । त्यसपछि कन्सर्टभरि उनी गीत सुनेर रमाउँछिन् । स्वदेशबाट बाहिरिएका तन्नेरीका लागि नेपाल, नेपाली गीत र नेपथ्यले कति महत्त्व राख्छ भन्ने ज्वलन्त उदाहरण उनका पोस्टहरूमा बगेका सरल र हृदयस्पर्शी भिडियो बन्न पुगेका छन् ।






