काठमाडौं । दशैंको अवसर पारेर फूलपाती अर्थात् यही असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दशैंको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् ।
चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राती ११ बजेर ५५ मिनेटसम्म रु तीन करोड ७५ लाख ५३ हजार २५१ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । उक्त चलचित्रले एक लाख १९ हजार ५६१ टिकट बिक्री भएबापत उक्त व्यापार गरेको हो । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।
यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले तीन करोड २१ लाख ७० हजार १६० रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको छ । यसका ९० हजार ९४७ टिकट बिक्री भएका छन् । दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।
फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ ले सबैभन्दा कम दुई करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचित्र विकास बोर्डको ‘बक्स अफिस २ सिनेमा’ एपमा छ । उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भएबापत सो व्यापार भएको हो । रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारले अभिनय गरेका छन् ।






