जेनजीका आक्रोशित मुहार छिनमै भयभीत भए, जबसँगैका साथी ढल्दै गए..

रिपोटर्स डायरी :

सेप्टेम्बर ८ जेनजीको देशव्यापी बृहत् प्रदर्शन । करिब १० बजे आसपास आक्रोशित मुहारमा देशको भ्रष्ट सिस्टम सुधार्न भन्दै काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएका थिए जेनजी पुस्ता । हुलका हुल बाँधिएर ह्वारह्वारती माइतीघर मण्डला प्रवेश गरिरहेका  जेनजीहरूमा छुट्टै जोश र आक्रोश देखिन्थ्यो । 

माइतीघर मण्डला आसपासमा जेनजीको भिड भरिएर छरिन थालेपछि नयाँ बानेश्वरतर्फ मोडिन थाले । सधैं आन्दोलनको भिड र चर्को आवाज गुन्जिरहने माइतीघर मण्डलामा देखिएको जेनजीको यो हुलले लाग्दै थियो स्थिति सामान्य नै रहनेछ ।

‘स्टप करप्सन’को नारा लगाउँदै नयाँ बानेश्वरतिर हाँकिएका उनीहरूसँगै अघि बढ्दा देखियो, कतिपय विद्यार्थी जो विद्यालय पोसाकमै प्रदर्शन गरिरहेका छन् । ‘ड्रेसमा त प्रहरीले पनि हामीलाई कुट्न पाउँदैन नि ! अन्तर्राष्ट्रिय कानुन लाग्छ रे’ पछाडिबाट एउटा आवाज आयो । 

फर्केर हेर्दा एनसीसी कलेजका तीनचारजना विद्यार्थी रहेछन् । उनीहरूलाई देख्दा लाग्थ्यो । सायद कलेजमा बिहानी सत्रको पढाइ सकेर आन्दोलनमा आएका होलान् । आन्दोलनमा उनीहरूमात्र नभएर विद्यालय पोसाकमै स-साना विद्यार्थीहरू पनि आएका थिए । जसलाई हेर्दा लाग्थ्यो उनीहरू सायद कक्षा ७,८ तिर मात्र पढ्दैछन् । 

म भावुक भएछु । ‘विद्यालय पढ्ने ती स-साना नानीबाबुहरू के बुझेर आन्दोलन गर्न आएका होलान् ? आन्दोलन भनेको विद्यालयले बाल दिवसमा र्‍याली हिँडाएजस्तो मात्र होइन । भ्रष्ट्राचार विरुद्ध अझ भनौँ सरकार विरुद्ध सडकमा उर्लिएको भीड जति बेला पनि विस्फोट हुन सक्छ । गोला बारुद बर्सन सक्छन् । अश्रुग्याँसको पिरोले ढल्न सकिन्छ । उनीहरू साँच्चै भ्रष्टाचारको विरुद्धमा नै आएका हुन र ?’ मेरो मनमा यस्तै प्रश्नहरू घुमिरहेको थियो । 

फेरी लाग्यो । उनीहरू जेनजी पुस्ता हुन् । जेनजी, जो प्रविधिसँगै जन्मिएर प्रविधिसँगै हुर्किरहेका छन् । टिकटक, फेसबुक सबैतिर यो आन्दोलनको प्रचार व्यापक छ । सायद, आफ्ना दाईदिदिको सर्पोटमा आफू पनि सडकमा उत्रिएका होलान् । यति बेलासम्म भीडले नयाँ बानेश्वरको एभरेस्ट होटेलमा प्रहरीले लगाएको ब्यारिकेट तोडेर अघि बढिसकेको थियो ।

यो भन्दा अगाडी पनि निकै ठुलठुला आन्दोलन शिक्षक आन्दोलन देखि व्यवसायी लगायत धेरैको आन्दोलनमा पनि सो ब्यारिकेट यति सहजै तोड्न सकेको याद छैन मलाई । तर जेनजी आन्दोलनकर्ताले छिनभरमै ब्यारिकेट तोडेर अघि बढेको देख्दा म आफैँ अचम्ममा परेकी थिए । सायद, त्यो दिन जेनजी आन्दोलनको प्रभावबारे सरकार बेफीर्की थियो । रत, सडकमा अन्य आन्दोलनजस्तै सुरक्षाकर्मी पठाएको थिएन । अघि बढेको भीड सोझै संसद् भवन ताकेर हुइँकियो ।

उनीहरूको मनसाय संसद् भवन कब्जा गर्ने रहेछ । संसद् भवनमा रहेका सुरक्षाकर्मीले आन्दोलनकारीहरूमाथि गोली बर्साउन थाल्यो । आन्दोलनकारीहरू गोली छेक्दै भए पनि संसद् भवनको पर्खाल चढ्न सफल भयो । तलबाट सबैले हुटिङ हाने । संसद् भवनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले तातो गोली बर्साउन थाल्यो साथै, अश्रुग्याँस प्रहार गर्न थाल्यो ।

मैले यो सबै आफ्नो मोबाइलमा क्याप्चर गरिरहेकी थिए । स्थिति भागाभाग हुन थाल्यो । नयाँ बानेश्वरको आइप्लेक्स मलतिरको एक घरमा लुकेर भए पनि मैले भिडियो खिच्न छोडिन । तर, अश्रुग्याँसको पिरोलाई मैले थेग्न सकिन र भागे त्यहाँबाट । 

देब्रे साइटको गल्लीमा पुगेर म थपक्क बसे । सबैजना भागेर त्यतै आएका रहेछन् । अश्रुग्याँसको पिरो सकिन नपाउँदै फेरी त्यही पनि अर्को अश्रुग्याँस फ्याँकियो । दाहिनेतर्फबाट प्रहरी पुन बन्दुक पड्काउँदै हामीतिरै आउँदैछन् भनेर आन्दोलनकारीहरू भाग्न थाले । मैले भाग्ने ठाउँ कतै देखिन ।

प्रहरी नजिक आए पनि म मिडियाकर्मी हो भनेर कार्ड देखाउँछु भन्ने झिनो आश थियो मनमा । चुपचाप भित्तामा अढेस लागेर उभिइरहेँ । नभन्दै बन्दुक पड्केको आवाज हामीतिरै आयो ।

भाग्ने बाटो नभएकाले आन्दोलनकारीहरू ढुँगा बर्साउन थाले । म आन्दोलनकारीतिर उभिएर भिडियो खिच्न थाले । यताबाट ढुङ्गा फ्याँकिइरहेको थियो । उताबाट गोली बर्सिरहेको थियो । एकैछिनमा प्रहरीलाई आन्दोलनकारीहरूले त्यहाँबाट खेदाउन सफल भए । 

म त्यहाँबाट अगाडी निस्कन सकिन र फेरी पछाडिको बाटो हुँदै एभरेस्ट होटेलको पछाडिबाट मुख्य सडकमा निस्किए । जहाँ स्थिति असामान्य थियो ।  जेनजीहरू झनै आक्रोशित भएर संसद् भवनतर्फ हाँकिँदै थिए । छेवैमा मानव अधिकारकर्मीको सवारीसाधनमा आगो दन्किरहेको थियो । म पनि फेरी संसद् भवनतर्फ दौडिए ।

थाहा भयो अघि बर्सिएको गोली धेरै जनालाई लागिसकेको रहेछ । नजिकै रहेको सिभिल हस्पिटलमा घाइते बोकेर दौडिनेको भीड बाक्लो थियो । कतिपय अन द स्पोर्ट नै डेथ भएछन् । जसमा ग्लोबल कलेजको  ड्रेसमा एक जना भाइ पनि रहेछ । मैले यो दृश्य हेर्न सकिन । मोबाइलमा क्याप्चर गर्न खोजे तर हातहरू काँपिरहे, भक्कानो फुट्यो । देश सुधार्न कलेज ड्रेसमै सडकमा उत्रिएको कलिलो युवालाई टाउकोमै गोली लागेछ । 

अर्को साइडमा एक जना अर्का जेन्जी प्रहरीको ब्यारिकेटमै घोप्टिएका थिए । उनको टाउकोबाट ह्वालह्वाल्ती रगत बगिरहेको थियो । म आत्तिए, युवाहरूले उनलाई नि बोकेर हस्पिटल दौडाए । अब भीड साम्य हुने कुरै थिएन । मैले यो देख्न सकिन र बबरमहलतर्फ दौडिए । एउटा क्याफेमा पसे । पावर ब्याङ्क झिकेर चार्ज लगाए । एउटा लस्सी मागे ।

आक्रोशित भीडसँग प्रहरीको दह्रै भिडन्त परेछ । क्याफेकी दिदीले हत्त न पत्त क्याफेको सटर तानिन । मैले वाईफाइ मागेर फेसबुक हेर्न थाले । हेर्दा हेर्दै मृत्यु हुनेको संख्या बढेको बढ्यै गयो । क्याफेमा हामी दुईचार जना कस्टोमर र क्याफेकी दिदी मात्र थियौं । दिदी सटर खोल्न डराइन । मलाई नि बाहिर निस्केर भिडियो खिच्ने हिम्मत आएन । बाहिर फ्याँकिएको अश्रुग्याँस क्याफेभित्रै पस्यो । 

हामी सबै क्याफेको किचनमा लुक्यौँ । कफ्रयु लागे पनि त्यसको असर केही देखिएको थिए । अन्तिममा बाहिरको स्थिति अलि साम्य हुनासाथ दितिले क्याफे बन्द गर्ने बताइन् । म निस्किएर भित्रको बाटो हानिए । जुन बाटो अन्य प्रदर्शनकारीहरू पनि दौडिरहेका थिए । 

बाटो थाहा थिएन यद्यपि, कहीँ न कहीँ पुगिने आसमा गल्लिगल्ली हिँडिरहें । हल्ला गर्दै कोही आइरहेको छ भने म लुक्थेँ ।

त्यतिसम्म डराइसकेकी थिए म । डराएको मन र काँपिरहेको शरीर लिएर हिँड्दाहिँड्दै म अनामनगरको थापा गाउँ निस्किएछु । त्यहाँ अलि शान्त थियो । छेवैको सडक पेटीमा थचक्क बसें । साइडमा एक जना युवा पनि बसेका थिए, उनको कपडाभरि रगत थियो । उत्सुकताका साथ मैले सोधेँ, ‘के भयो चोट लागेको हो र तपाईँलाई ?’ 

निराश र थकित मुद्रामा उनले भने, ‘होइन मेरो साथीलाई गोली लाग्यो, मैले बोकेर हस्पिटल पुर्‍याएर आएको’ त्यसपछि हामी बोलेनौँ । ऊ घोरिइरह्यो, म मोबाइल चलाउन थालेँ । तर निकै बेरसम्म हामी त्यही बसिरह्यौँ । र करिब ६ बजेतिर त्यहाँबाट म घर फर्किए उ अझै त्यही घोरिएर बसिरहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top