काठमाडौं । गत शनिबार राति गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवलवा रोड नजिक डोरीले बाँधिएको अवस्थामा एउटा बेवारिसे सुटकेस भेटियो । स्थानीयले लगत्तै प्रहरीलाई जानकारी गराए । सूचनापछि नजिकैको प्रहरी चौकी बेलबिछुवाको टोली घटनास्थल पुग्यो ।
प्रहरीका अनुसार घटनास्थल पुग्दा सूचनामा भनिएजस्तै निलो रंगको ठुलो सुटकेसलाई बाहिरबाट डोरीले बाँधेर सडकमा छाडिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार प्रहरीले सो सुटकेसमा कुनै विस्फोटक पदार्थ छ की भन्ने शङ्काको भरमा रातभरि सुरक्षा घेरा बनाएर राखेको थियो । तर, आइतबार बिहानै डिएसपी कार्कीको टोली घटनास्थल पुगेर सुटकेस खोली हेर्दा सबै जना चकित परे ।
रातभर प्रहरीले सुरक्षा घेराभित्र राखेको सुटकेसमा कुनै विस्फोटक पदार्थ थिएन त्यहाँ थियो त एक महिलाको शव । जुन शवको हातखुट्टा खुम्च्याएर पट्याएर कोचिएको थियो सुटकेस भित्र । डीएसपी कार्कीका अनुसार शवमा खासै चोटपटक थिएन मात्र नाकबाट थोरै रगत बगेको देखिन्थ्यो ।
केही बेरमा शवको सनाखत भयो । सो शव रौतहटको माधव नारायण नगरपालिका–६ कि २६ वर्षीय रुबीकुमारी साहको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीको आशंका रुबी कुमारीको पूर्व प्रेमी लक्ष्मण पासवान तिर सोझियो ।
प्रहरीका अनुसार हत्यापछि पासवानले शव लुकाउन सुटकेस प्रयोग गरी सार्वजनिक स्थानमा फ्याँक्ने योजना बनाएका थिए । शव सार्न उनले गौरको कबिर चौकबाट ५०० रुपैयाँमा ई–रिक्सा भाडामा लिएका थिए । उक्त ई–रिक्सामा शव सहितको सुटकेस बोकेर पासवान बरहवा पुल पारि पुगेका थिए ।
पुल पारि पुगेपछि ई–रिक्साको पाङ्ग्रा बिग्रिएको थियो । सो क्रममा चालकले अर्को ई–रिक्सा बोलाउने प्रयास गरे पनि पासवानले सुटकेस लिएर अर्को रिक्सामा नजाने भन्दै इन्कार गरेको सो रिक्सा चालकले प्रहरीलाई बयान दिएको बताइएको छ ।
उनैका अनुसार त्यसपछि पासवान सुटकेस लिएर पैदल नै अघि बढेका थिए । यद्यपि, नसकेपछि सडकमै बेवारिसे अवस्थामा सुटकेस छाडेर पासवान फरार भएको प्रहरीको अनुमान रहेको छ ।
रौतहटको माधव नारायण नगरपालिका–६ का वडा अध्यक्ष राम नरेश राय यादवले दिएको जानकारीअनुसार रुबीको विवाह भारतको मुजफ्फरपुरमा भएको थियो । उनको एक चार वर्षीय छोरा समेत छन् ।
उनी छोरा पढाउन नेपालमा डेरा गरी बसेको माइती पक्षको भनाइ छ । यद्यपि, वडा अध्यक्ष यादव रुबी र रुबीको परिवारको बारेमा आफूहरूलाई धेरै जानकारी नरहेको बताउँछन् । रुबी र उनका परिवार गाउँमा त्यति नबस्ने भएको कारणले पनि उनीहरूको बारेमा आफूले फेसबुकबाटै थाहा पाएको उनको भनाइ छ ।
रुबीको विवाह करिब पाँच वर्ष पहिला भारतको मुजफ्फरपुरका शिव सागर साहसँग भएको थियो । अहिले मृतक रुबीका श्रीमान्, आमा र भाइलाई सम्पर्क गरेर प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ ।
प्रेमी पासवानको आत्मदाह, उपचारको क्रममा मृत्यु
रौतहटको माधव नारायण नगरपालिका–६ मानै बस्ने रुबीको पूर्व प्रेमी लक्ष्मण पासवानले एउटा भिडियो बनाएर आत्मदाह गरे । उनले भिडियो बनाउँदै कसैले कसैको यत्तिकै ज्यान नलिने, कसैलाई मार्नको लागि बाध्य पारिने र यसको पछाडि कसैको हात हुने बताएका छन् ।
प्रहरीका अनुसार माधवनारायण नगरपालिका–६, माधोपुर पछाडिको आँपको बगैँचामा पासवान आफैँले डिजेल खन्याई शरीरमा आगो लगाएका थिए । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी माधोपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनको ६० प्रतिशत शरीर जलेको अवस्थामा उद्धार गरी अस्पताल पठाएको थियो । यद्यपि, उनको उपचारको क्रममा निधन भएको छ ।
भिडियोमा पासवानले आफै रुबी कुमारी शाहको हत्या गरेको स्वीकारेका थिए । उनले भिडियोमा आफूले कसरी हत्या गरे भन्ने कुरा नखुलाए पनि आफूहरूको प्रेमका कारण यो घटना भएको बताएका छन् । रुबीसँग कक्षा १० मा पढ्दा आफ्नो प्रेम भएको र जिल्ला अदालत सर्लाही र भारतको सीतामढी स्थित अदालतमा आफूहरूको प्रेम विवाह भएको भए पनि रुबीकी आमा र दुवै घरपरिवारले आफूहरूको विवाह स्वीकार नगरेको पासवानको भनाइ छ ।
सामाजिक सञ्जालमा जलेको अवस्थामा सार्वजनिक भएको पासवानको दाहिने हातमा ‘माइ हर्ट रुबी कुमारी’ लेखिएको ट्याटु छ भने छातीमा रुबीकै तस्बिर खोपिएको छ । प्रहरीका अनुसार लक्ष्मण पासवान रुबीप्रति अत्यधिक आसक्त थिए । प्रहरीले यसलाई प्रेम प्रेरित हत्याको रूपमा लिएको छ ।






