काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन )ले ३२औँ विश्व आदिवासी दिवस आगामी श्रावण २४ गते (अगस्ट ९) देशभर विविध कार्यक्रमका साथ मनाउने भएको छ।
यस वर्ष दिवस ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता१’ भन्ने राष्ट्रिय मूल नाराका साथ मनाइनेछ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घले काठमाडौंको भृकुटीमण्डपबाट बिहान ११ बजे सुरु हुने सांस्कृतिक र्याली भद्रकाली, सहिदगेट र सुन्धारा हुँदै टुँडिखेलस्थित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुने जनाएको छ।
र्यालीमा देशभरबाट आएका आदिवासी जनजाति समुदाय मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी तथा परम्परागत नृत्यसहित सहभागी हुनेछन्।
टुँडिखेलमा हुने मूल समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति, रैथाने परिकार, हस्तकला, स्थानीय उत्पादन तथा सांस्कृतिक सम्पदाको प्रदर्शनी र फुड फेस्टिभलसमेत आयोजना गरिने महासङ्घले जनाएको छ।
दिवसको अवसरमा श्रावण १८ देखि २७ गतेसम्म देशभर विचार गोष्ठी, अन्तरक्रिया, मातृभाषा पत्रकारिता सम्मेलन, युवा तथा महिला सम्मेलन, रक्तदान, वृक्षारोपण, फोटो प्रदर्शनी र अधिकारसम्बन्धी छलफललगायत सप्ताहव्यापी कार्यक्रम सञ्चालन हुनेछन्।
महासङ्घले संविधानले सुनिश्चित गरेका आदिवासी जनजातिका अधिकार, समानुपातिक समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, मातृभाषा, संस्कृति तथा भूमि र प्राकृतिक स्रोतसम्बन्धी अधिकारको प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दै दिवसका कार्यक्रमलाई सफल बनाउन सबैको सहभागिताका लागि आह्वान गरेको छ।






