ललितपुर । अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कुनै पनि स्रोतसाधनको कमी हुन नदिने दृढता व्यक्त गरेका छन् । ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचनलाई निष्पक्ष र सफल बनाउन सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका हुन् ।
पर्यटन बोर्ड र परिसूचक मिडियाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उनले राज्यको स्रोतलाई सही ढंगले परिचालन गरी निर्वाचनको वातावरण सुनिश्चित गर्ने आश्वासन दिए । अर्थमन्त्रीले मुलुक अब राजनीतिक अस्थिरताको बहसबाट बाहिर निस्केर आर्थिक समृद्धिको दिशामा लाग्नुपर्नेमा जोड दिए ।
सरकारका सामु राजनीतिक अन्योल चिरेर देशलाई आर्थिक एजेन्डामा लैजानु नै सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ थियो । खनालले अघिल्लो सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिने घोषणा गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको स्वीकार गरे । उनले पर्यटन क्षेत्रका समस्या समाधानका लागि सरकारले नीतिगत सुधार गरिरहेको र यसलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
देशको अर्थतन्त्रलाई बलियो बनाउन सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गर्दै अर्थमन्त्रीले विभिन्न नीतिगत कामहरू अघि बढिरहेको जानकारी दिए । पर्यटन र अन्य आर्थिक क्षेत्रको उन्नयनका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उनको तर्क थियो । निर्वाचनपछिको स्थिर सरकारले आर्थिक विकासका योजनाहरूलाई थप गति दिने विश्वाससमेत उनले व्यक्त गरे ।






