काठमाडौं । सबैलाई थाहा भएकै कुरा हो । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको भाषण सुन्न लायकका हुन्छन् । उनका भाषणमा प्राय: शब्दका झटारोहरू भेटिन्छन् । उनी बोलिरहँदा एउटा आम मानिसले आशा देख्छ, तपाईँ हाम्रै कान ठाडिन्छन् ।
मेरै लागि बोलिदिएझैँ भान हुन्छ । मलाई नै भनेझैँ बनाइदिन्छन् । जेनजी आन्दोलनपछि बद्लिएका धेरै कुरामध्ये नेपाली काँग्रेसको अहिले चलिरहेको विशेष महाधिवेशन पनि एक हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा राजनीतिक दलहरूलाई मात्र होइन, राजनीतिक नेताहरूलाई पनि सच्चिनुस् भन्ने नारा निकै घन्किएका थिए । सच्चिनु र सक्किनुको विकल्प पनि दिएका थिए ।
सो समयमा सबैभन्दा पहिला स्थापित राजनीतिक नेताको हकमा उनै थापाले हामी सुध्रिन्छौँ भने । सुध्रिएर अघि बढ्छौँ भनेका थिए, उनले । अहिले उनी आफ्ना सोही अभिव्यक्ति अनुसार पार्टी सुधार्ने पक्षमा उभिएका छन् । पार्टी संस्थापनको तीव्र अस्वीकारका बिच पनि उनकै अगुवाइमा विशेष महाधिवेशन भइरहेको छ । महाधिवेशन उद्घाटनका क्रममा भृकुटीमण्डपमा उनले दिएको भाषणले अहिले निकै चर्चा बटुलिरहेको छ ।
गगन थापा आफैंमा स्पष्ट वक्ता त हुन् नै उनको बोल्ने कलामा डर भय देखिँदैन । उनी निर्धक्क आफ्ना कुरा राख्छन् । प्राय: उनी मासको भावलाई बुझेर वा नियालेर बोल्छन् । त्यसैले उनको भाषण आम मानिसलाई चित्त बुझ्दो लाग्छ । आफ्नै पार्टी सरकारमा रहँदा पनि सरकारको विरोध गर्ने ल्याकत राख्छन्, उनी ।
त्यसैले उनी निडर र फेमस नेताका रूपमा पनि चिनिन्छन् । अहिले नै हेर्नुहोस् न, आफ्नै पार्टीमा नराम्रा कुराहरू छन् भन्दै यी यी पक्ष सच्याउनुपर्छ भनी विशेष महाधिवेशन गरिरहेका छन् । प्रायः मासमा निकै प्रभावशाली वक्तव्य दिने उनको कलालाई तारिफ गर्नैपर्छ भलै ती कुराहरू व्यवहारमा लागू गर्छन् वा गर्दैनन् त्यो अर्को बहसको विषय हो । तर उनका भाषणहरूले चर्चा बटुलेकै छन्, हुन्छन् ।
कीर्तिपुरको डाँडामा ल्यापटप चलाएर महिनाको लाखौँ कमाउने भाषण होस् या काँग्रेसमा बाहरू छैन भनेका भाषण होस् । यी पछिल्लो समय सामाजिक सञ्जाल तताउने भाषण हुन् ।
हिजो अर्थात् काँग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा उनले ‘काँग्रेस दास र लासहरूको पार्टी होइन, काँग्रेस जिउँदो मानिसहरूको पार्टी हो’ भनेका थिए । र थप उनले भनेका थिए, ‘काँग्रेसमा प्रश्न मरेको छैन, यहाँ कुनै बा छैन, जसले नबोल भन्दा बोल्न छोड्ने कोही पनि छैन ।’
उनका यी नै भनाइले अहिले खुब चर्चा बटुलिरहेको छ । साथमा आलोचना भइरहेको छ । आलोचना गर्नेहरूको अग्रपङ्क्तिमा एमाले नेताहरू छन् । त्यो पनि अध्यक्ष केपी शर्मा ओली पक्षका । ओलीइतरका नेताहरूले त गगनको तारिफ नै गरेका छन् ।
आजभन्दा एक महिना अगाडि नेकपा एमालेको महाधिवेशन पनि अहिले काँग्रेसको विशेष महाधिवेशन भइरहेको भृकुटीमण्डपमा भएको थियो । नेकपा एमाले महाधिवेशनमा दुई प्यानल प्रतिस्पर्धामा थिए, एक केपी शर्मा अोलीको । जो पुरानै पार्टी अध्यक्ष पनि हुन् । र अर्को ईश्वर पोखरेलको । तर, महाधिवेशनमा सर्वाधिक भोट केपी ओलीले पाए र उनी नै फेरि तेस्रो कार्यकालका लागि पार्टी अध्यक्ष बने । र, उनै अध्यक्ष आलीलाई एमालेमा बा भन्नेहरूको जमात निकै ठुलो छ । ओली पनि बा भनिदिएकोमा मख्ख हुन्छन् । ओली अर्थात् बा ।
उनलाई पार्टीका मात्र नभएर पार्टी बाहिरकाले पनि उनलाई बा भनेर सम्बोधन गर्छन् । जसलाई स्वयं ओलीले पनि सहज रूपमा लिएका छन् । उनी आफैं भन्छन्, मलाई आम मानिसहरूले बा भन्दा रमाइलो लाग्छ । तसर्थ, गगन थापाको ‘बा’वाला भाषणको वाक्यले नेकपा एमालेका मानिसहरूलाई पेच परेको हुनुपर्छ । एमाले महासचिव शंकर पोख्रेल, सचिव महेश बस्नेत मात्र होइन युवा नेता समिक बडाल पनि थापाको भाषणबाट क्रुद्ध बनेका छन् ।
एमाले नेताहरू गगनको भाषणसँग रिसाउनका पछाडि दुई वटा महत्त्वपूर्ण राजनीतिक कारण छन् । एक गगन एमालेका प्रमुख प्रतिस्पर्धी हुन् । गगनलाई ड्यामेझ गरे काङ्ग्रेससँग प्रतिस्पर्धा सहज हुन्छ भन्ने बुझाइ एमालेमा छ । अर्को अहिले विशेष महाधिवेशनले जुन पीडा काँग्रेस सभापति शेरबहादुर देउवालाई दिएको छ, त्यसले एमाले अध्यक्ष केपी ओलीलाई पनि पिरोलेको छ । ओली र देउवाको हिमचिम यति बढेको छ कि ओली र उनीनिकटका नेताहरू देउवालाई आफ्नै पार्टीको अभिभावक मात्र सम्झिँदैनन् उद्धारक पनि मान्छन् ।






