स्वास्थ्यमन्त्रीको आलोचना गर्दै राजिनामा माग गर्ने स्वास्थ्यकर्मी अधिकारी पक्राउ

काठमान्डौं । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणी गर्दै आएका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई सोमबार साँझ करिब साढे ७ बजे जनकपुरबाट नियन्त्रणमा लिएको हो।

अधिकारी पक्राउ परेपछि स्थानीय स्वास्थ्यकर्मीहरूले विरोध जनाएका छन्। उनीहरूले मन्त्रीको आलोचना गरेकै कारण पक्राउ पुर्जीबिनै अधिकारीलाई नियन्त्रणमा लिइएको आरोप लगाएका छन्।

अधिकारी हेल्थ असिस्टेन्ट हुन्। उनी यसअघि निजी स्वास्थ्य संस्थामा कार्यरत थिए भने हाल लोकसेवा आयोगको तयारी गरिरहेका थिए।

सहकर्मीहरूका अनुसार उनी सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्रीले गरेका कामको निरन्तर आलोचना गर्दै आएका थिए।

‘उहाँले सामाजिक सञ्जालमा मन्त्रीको कामको आलोचना गर्दै आउनुभएको थियो। त्यही कारण पक्राउ गरिएको हुनसक्ने हाम्रो अनुमान छ,’ अधिकारीका एक सहकर्मीले बताएका छन्।

यद्यपि, अधिकारीलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top