काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा सरकारको समग्र बजेट खर्च अघिल्लो वर्षको तुलनामा घटेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन मसान्तसम्म सरकारले ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ ।गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ४६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको थियो ।
यस वर्ष साउनमा कुल बजेटको १.६८ प्रतिशत मात्रै खर्च भएको छ भने गत वर्षको साउनमा २.३६ प्रतिशत बजेट खर्च भएको थियो ।
गत वर्षको पहिलो महिनामा बजेट खर्च बढ्नुमा वित्तीय व्यवस्थातर्फको खर्चको ठूलो भूमिका थियो ।
गत साउनमा वित्तीय व्यवस्थाअन्तर्गत २७ अर्ब १० करोड रुपैयाँ खर्च भएकोमा यस वर्ष सो शीर्षकमा १९ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ ।
उक्त रकम मुख्यतः सार्वजनिक ऋणको साँवा भुक्तानीमा खर्च हुने गर्छ ।
चालु आर्थिक वर्षमा सरकारले कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको अर्धवार्षिक समीक्षा गर्दा खर्च संशोधन गर्नुपर्ने अवस्था नआउने दाबी गर्दै आएका छन् ।






