काठमाडौं । झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्रमा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
मोरङका उर्लाबारी, पथरी तथा आसपासका क्षेत्रमा समेत विद्युत् आपूर्ति बन्द हुने भएको छ।
दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएकाले विद्युत् सेवा कटौती गर्न लागिएको हो।
विद्युत् सेवा शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म अवरुद्ध हुने जनाइएको छ।
सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रङ्गेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुने आयोजना प्रमुख दर्शन राय यादवले बताएका छन्।






