नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो 

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको आय, मुनाफा तथा अन्य वित्तीय सूचकहरू गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन्।

कुल सञ्चालन आय यो त्रैमासिकमा ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिभन्दा ६ लाख ७१ हजार रुपैयाँ कम हो। त्यस्तै, कम्पनीको कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा ५९ करोड २६ लाख रुपैयाँले घटेको छ।

आयमा गिरावटसँगै टेलिकमको नाफा पनि कम भएको छ। उक्त अवधिमा कम्पनीको करअघिको आम्दानी ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँमा सीमित रह्यो, जुन गत वर्षको सोही अवधिभन्दा १२.२९ प्रतिशतले कम हो। करअघि नाफा १८.९ प्रतिशतले घटेर २ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ। पहिलो त्रैमासिकमा कम्पनीको खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ मात्र रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ४१ करोड ४४ लाख रुपैयाँले घटेको छ। प्रति शेयर आम्दानी पनि घटेर २९ रुपैयाँ ४५ पैसा पुगेको छ।

विश्वभर ओटीटी सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट आउने कलमा उल्लेखनीय कमी आउँदा राजस्व तथा नाफामा गिरावट आएको कम्पनीको बुझाइ छ । अन्तरआवद्धता राजस्व मात्र करिब १० करोड ९७ लाख रुपैयाँले घटेको छ। त्यस्तै, बैंकिङ बजारमा व्याजदर घटेपछि मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी ५० करोड रुपैयाँले घटेको टेलिकमले जनाएको छ।

कर्मचारी खर्च पनि बढेको देखिन्छ। कर्मचारी बीमा खर्च बढ्नुका साथै, अघिल्लो वर्ष ७.५ प्रतिशत रहेको छुटदर घटेर ७ प्रतिशतमा आउँदा पेन्सन तथा अवकाश सम्बन्धी दायित्व बढेको कम्पनीले उल्लेख गरेको छ। यस कारण मात्र कर्मचारी खर्चतर्फ करिब ८.८ करोड रुपैयाँ अतिरिक्त बढेको छ।

राष्ट्रको सञ्चार सेवा प्रदान गर्ने संस्थाका रूपमा टेलिकमले दुर्गम र विकट क्षेत्रमा समेत सेवा विस्तारमा निरन्तर लगानी गर्दै आएको छ। कम प्रतिफल र उच्च लागतका बीच पनि सेवा सुधार तथा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएकाले खर्च बढ्न गएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top