होल्डिङ सेन्टरमा भूमिहीन सुकुम्बासीको मृत्यु, व्यवस्थापनको माग गर्दै आन्दोलन

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि–९, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा एक भूमिहीन सुकुम्बासीको मृत्यु भएको छ।

बिहीबार बिहान करिब पौने ११ बजे बारा सुवर्ण गाउँपालिका–२ का ५७ वर्षीय हिरालाल पासवानले आत्महत्या गरेको बताइएको छ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि स्थानान्तरण गरिएका सुकुम्बासीमध्ये पासवान पनि एक थिए।

सुकुम्बासीको उचित व्यवस्थापन हुन नसकेको भन्दै उनी पछिल्लो समय चिन्तित रहने गरेको बताइएको छ।

पासवानले होल्डिङ सेन्टरको दोस्रो तलामा रहेको कोठा नम्बर २०७ मा आत्महत्या गरेका हुन्।

घटनापछि प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा सुरक्षा टोली घटनास्थल पुगेको थियो।

तर, त्यहाँ रहेका सुकुम्बासीले शव उठाउन नदिएपछि प्रहरीले मुचुल्कासमेत गर्न नसकी फर्किएको बताइएको छ।

पासवान श्रीमती, छोरा र बुहारीसहित होल्डिङ सेन्टरमा बस्दै आएका थिए।

उनकी श्रीमती बारा गएको समयमा उनी कोठामा एक्लै रहेको बताइएको छ।

घटनापछि होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू आन्दोलित भएका छन्।

उनीहरूले आफूहरूको दीर्घकालीन र ठोस व्यवस्थापनमा राज्य उदासीन बनेका कारण यस्तो अवस्था सिर्जना भएको आरोप लगाएका छन्।

उनीहरूले पासवानको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने र आफूहरूको तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top