काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गर्दै विभागले कञ्चनपुरको पुनर्वासस्थित शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार पाएको जनाएको छ।
विजेता कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको छ।
यस्तै, अन्य १५ जनाले जनही एक लाख रुपैयाँको उपहार पाएका छन्। उनीहरूको गोपनीयता कायम गर्न परिचय सार्वजनिक नगरिएको विभागका महानिर्देशक भीष्मराज भूसालले बताएका छन्।
करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत बैंक तथा वालेटको क्युआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः सहभागी हुने व्यवस्था रहेको छ।
नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल विभागको वेबसाइटमा अपलोड गरी कुपन लिनुपर्ने व्यवस्था रहेको छ।






