राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारकै क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको छ।

प्रहरी स्रोतका अनुसार नेपालीको उपचारका क्रममा निधन भएको हो। यद्यपि, समाचार तयार पार्दासम्म वीर अस्पतालले भने उनको मृत्युबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

राइडरको काम गर्दै आएका नेपालीले राहदानी विभाग परिसरमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए।

महानगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि उनी चरम मान

सिक तनावमा पुगेको र त्यसपछि आत्मदाहको प्रयास गरेको बताइएको छ। आर्थिक अवस्था कमजोर रहेका नेपाली वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। उनले आफन्तसँग महानगरको कारबाहीकै कारण आफू यस्तो कदम चाल्न बाध्य भएको बताएका थिए।

आत्मदाहपछि गम्भीर अवस्थामा रहेका नेपालीलाई बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उनलाई बर्न विभागको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले स्थानान्तरण गर्दा थप जोखिम हुन सक्ने चिकित्सकहरूको सुझावपछि वीर अस्पतालमै उपचार जारी राखिएको थियो।

उपचारका क्रममा वीर अस्पतालका चिकित्सकहरूले एम्स अस्पतालका विशेषज्ञसँग नियमित परामर्शसमेत गरिरहेका थिए।

यसअघि वीर अस्पतालले पत्रकार सम्मेलन गरी नेपालीको अवस्था गम्भीर रहेको जनाएको थियो। बिहीबार राति गृहमन्त्री सुधन गुरुङ पनि उनको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेका थिए।

उक्त घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा मुगुबासी तथा सर्वसाधारणले प्रदर्शनसमेत गरेका छन्।

सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top