काठमाडौं । नेपाली बजारमा सुनको मूल्य र माग दुवै आकासिँदै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीका अनुसार हाल नेपालमा दैनिक ४० किलो सुनको माग हुने गरेको छ ।
यद्यपि, दैनिक २५ केजी सुन मात्र नेपाल ल्याउन पाइन्छ । त्यो पनि असोज २४ गते सुनको माग धान्न नसकेको कारण नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा २० केजीबाट बढाएर २५ केजी पुर्याएको थियो । अध्यक्ष रसाईली भन्छन्, ‘नेपालमा दैनिक २५ केजी सुन आयात हुन्छ, पाँच केजी यतै नेपाली ग्राहकहरूसँग भएको पुरानो सुन किनबेच हुन्छ । माग दैनिक ४० केजीको छ ।’
उनका अनुसार हाल नेपाली बजारमा दैनिक १० केजी सुनको माग पूरा गर्न सकिएको छैन । गत वर्षको यही समयमा भन्दा अहिले सुनको मूल्य करिब ५० प्रतिशतले बढेको छ । यही वैशाख २०८१ मै हेर्ने हो भने पनि प्रतितोला सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ थियो, अहिले भने त्यो अझै उकालो यात्रामा छ । शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
सुनचाँदी व्यवसायी महासंघ २०६९ फागुन २० गते स्थापना भएको थियो । त्यो बेला १० ग्राम सुनको मूल्य ४८ हजार ४४० रुपैयाँ र प्रतितोला ५६ हजार ५०० रुपैयाँ रहेको थियो ।
मूल्य बढ्ने कारण : युद्ध, विपत्ति र विवाहको सिजन
पूर्व अध्यक्ष माणिक रत्न शाक्यका अनुसार सुनको मूल्य बढ्नुका कारण विश्वभरका अस्थिरता हुन् । ‘प्राकृतिक विपत्ति, युद्ध र अमेरिकी ब्याजदर घट्ने अपेक्षाले सुनको माग बढाएको हो’ उनी भन्छन् ।
त्यसमाथि चाडपर्व र बिहेको सिजन पनि सुरु भएकोले बजार तातो बनेको छ । ‘मंसिरतिर बिहेका लागि सुन किन्ने चलन हुन्छ । अहिले धेरैजसोले ‘अझ बढ्छ’ भन्ने डरले अग्रिम खरिद गरिरहेका छन्’ शाक्य भन्छन् ।
निम्न वर्गीयका लागि भार, लगानीकर्ताका लागि मौका
सुनको मूल्यले निम्न आय भएका परिवारलाई भने दबाब दिएको छ । विवाह वा चाडपर्वमा सुन किन्ने चलन ‘अनिवार्य जस्तै’ भएकाले मूल्य वृद्धिले उनीहरूलाई ठुलो असर पारेको देखिन्छ ।
तर, अर्कातर्फ धेरै लगानीकर्ताले सुनलाई जोखिमबाट जोगाउने ‘हेजिङ’ रणनीति को रूपमा हेरेका छन् । सेयर बजारमा अनिश्चितता बढेपछि उनीहरू सुनमा लगानी बढाइरहेका छन् ।
‘विश्वमा अस्थिरता बढेपछि सुनलाई सुरक्षित सम्पत्ति ठानिन्छ । त्यसैले लगानी बढ्दै जाँदा मूल्य अझ माथि चढिरहेको छ’ शाक्य थप्छन् ।
व्यवसायी र विज्ञहरू दुवैले अहिलेको ट्रेन्ड हेर्दा सुनको मूल्य अझै बढ्ने अनुमान गरेका छन् ।






