जाउलाखेलमा तिहार लक्षित फूल मेला (तस्बिरहरू)

ललितपुर । ललितपूरको जाउलाखेलमा तिहार तथा छठ पर्वलाई लक्षित गरी फुल मेला सुरु गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुने भएको हो । एक्पोमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गरिएको थियो ।
असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म (पाँच दिन) सञ्चालन हुने मेलामा करिब ४० हजार दर्शकले अवलोकन गर्ने र करिब एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ ।
मेलामा ८० व्यावसायिक स्टल, ५ अफिसियल स्टल, २ प्रतियोगितात्मक स्टल, १ प्लान्ट क्लिनिक स्टल र फोटो सेल्फी स्टलसहित जम्मा ९० वटा प्रदर्शनी कक्ष रहका छन् ।
मेलामा करिब ४५० भन्दा बढी प्रजातिका फूल बिरुवाहरू प्रदर्शन र विक्रीका लागि राखिएका छन् । गोदावरी फूल बाहेक सयपत्री, मखमली लगायत तिहार र छठमा बढी प्रयोग हुने मौसमी फूल तथा आलंकारिक बिरुवाहरू पनि राखिएको छ ।
नेपालमा पुष्प व्यवसायको सुरुआत वि.सं. २०११ सालमा सामान्य रूपमा भएको हो । व्यावसायिक विकासको सुरुवात भने २०४९ सालमा फ्यानको स्थापनापछि
देखिएको हो । हाल सातै प्रदेशका सहरी तथा अर्धसहरी क्षेत्रमा फैलिएको यस व्यवसायमा ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा फूल खेती हुँदै आएको छ ।
फ्यानका अनुसार हालसम्म देशभर १२३५ भन्दा बढी पुष्प व्यवसायी सक्रिय छन् । जसमा नर्सरी ५४०, कट फ्लावर उत्पादक ९०, खुद्रा व्यापारी १५८, थोक व्यापारी ६, इनपुट सप्लायर्स २५ र लुज फ्लावर उत्पादक ४१६ छन् ।
व्यवसायमा करिब ८ अर्ब ८३ करोड रुपैयाँको लगानी छ भने प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ५३,५०० भन्दा बढीले रोजगारी पाएका छन् ।
हाल पुष्प व्यवसायमा वार्षिक १०–१५ प्रतिशतको वृद्धिदर देखिए पनि आर्थिक वर्ष २०७८/७९ मा कोभिडको प्रभावका कारण व्यापारमा केही गिरावट आएको थियो । तर पछिल्ला वर्षहरूमा फेरी व्यवसायले गति लिएको छ । आ.व. २०८०/८१ मा करिब ८.५ अर्बको कारोबार भएको फ्यानले जनाएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top