काठमाडौं। नेपाली फुटबलमा देखिएको अव्यवस्था, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि आज शान्तिपूर्ण धर्ना गरिएको छ।
फुटबलका सरोकारवाला, पूर्व खेलाडी, प्रशिक्षक र समर्थकहरू सहभागी भएको उक्त प्रदर्शनमा “फुटबल जनताको हो, कुनै व्यक्तिको होइन” भन्ने नारासहित पारदर्शिता र सुधारका माग उठाइएका छन्। धर्नाका सहभागीहरूले विगत पाँच वर्षका आर्थिक विवरणहरू सार्वजनिक गर्न, एन्फा नेतृत्वको जवाफदेहिता सुनिश्चित गर्न र स्थगित घरेलु लिगहरू तुरुन्त सुरु गर्न माग गरेका छन्।
उनीहरूले महिला फुटबल र ग्रासरुट विकास कार्यक्रमहरूमा समेत पारदर्शिता र जिम्मेवारीको माग गरेका छन्।







