काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा हेमराज जोशीले सुदूरपश्चिम प्रदेशको सह–महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक अभियान र राजनीतिक संगठनमा सक्रिय जोशीले सुदूरपश्चिम प्रदेशको सह–महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
कैलालीको एक सामान्य परिवारमा जन्मिएर विभिन्न सामाजिक कार्यमा सहभागि जोशीलाई धेरैले निष्ठावान, जुझारु र जनस्तरमा भिजेका व्यक्तित्वका रूपमा चिन्ने गर्दछन् ।
उनले विगत १० वर्षभन्दा बढी समयदेखि सडक संघर्षमार्फत अन्याय र विभेदका विरुद्ध निरन्तर आवाज उठाउँदै आएका जोशीले आफूलाई एक भरपर्दो सामाजिक अभियन्ताका रूपमा स्थापित गरिसकेका छन् ।
विशेषगरी कोरोना महामारीको कठिन समयमा नागरिकको सेवामा अहोरात्र खटिएर खाद्यान्न र राहत वितरणमार्फत मानवीय संवेदना प्रकट गरेका उनले विपन्न वर्गको मन जित्न सफल भएका थिए ।

भ्रष्टाचार र कुशासनका विरुद्ध सधैं निर्भीक ढंगले प्रस्तुत हुने जोशीले सामाजिक अभियानको सुरुवाती चरणमा आम युवा जस्ता अभियानमार्फत युवाहरूलाई संगठित गर्ने र समाज रूपान्तरणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने काम गर्दै आएका छन् ।
रास्वपामा आबद्ध भएपछि संगठन विस्तार, कार्यकर्ता परिचालन र पार्टीको सुशासन तथा परिवर्तनको एजेन्डालाई जनस्तरसम्म पुर्याउन उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
पदभन्दा जिम्मेवारीलाई केन्द्रमा राखेर काम गर्ने उनको कार्यशैली, सुदूरपश्चिमको भूगोलप्रतिको बुझाइ र त्यहाँका जनताका समस्यासँगको निकटताका कारण उनको उम्मेदवारीलाई पार्टीभित्र र बाहिर निकै चासोका साथ हेरिएको छ ।
उनले संगठनलाई थप सुदृढ, ऊर्जावान र अनुशासित बनाउन तथा आम नागरिकको भरोसालाई नेतृत्व तहमा सही ढंगले प्रतिनिधित्व गराउन आफ्नो उम्मेदवारी रहेको जोशीले बताएका छन् ।








