काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालमा वार्षिक २०–३० लाख पर्यटक भित्र्याउने लक्ष्यमा मात्र सीमित नभई १ करोड पर्यटक भित्र्याउने बृहत् योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल पर्यटन व्यवसायीहरूको छाता सङ्गठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को ५९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपालको पर्यटन उद्योगलाई पुनःउत्थान मात्र नभई तीव्र गतिमा अघि बढाउन ठूलो लक्ष्य र स्पष्ट योजना आवश्यक रहेको बताएका छन्।
उनले विश्व पर्यटन बजारमा भइरहेको प्रविधिको विकास, पर्यटकका बदलिँदा चाहना र बढ्दो प्रतिस्पर्धाअनुरूप नेपालले आफूलाई सक्षम बनाउनुपर्ने बताएका छन्।
भूकम्प, महामारी र अन्तर्राष्ट्रिय मन्दीजस्ता विभिन्न चुनौती पार गरेको नेपालको पर्यटन उद्योग अब पुनः उठ्ने मात्र नभई तीव्र गतिमा अघि बढ्ने तयारीमा रहनुपर्ने उनको भनाइ छ।
पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री कानुन, पूर्वाधार विकास र प्रभावकारी अन्तर्राष्ट्रिय बजारीकरणमा राज्यको भरपर्दो साथ आवश्यक रहेको उनले बताएका छन्।
सभामुख अर्यालले विगतका कमीकमजोरीको समीक्षा गर्दै आन्तरिक स्वार्थ त्यागेर व्यवसायीहरू एकताबद्ध भई पर्यटन क्षेत्रको विकासमा लाग्न आग्रह गरेका छन्। नेपालमा पर्यटकको आगमन बढाउन दीर्घकालीन योजना, पूर्वाधार विकास तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।






