खोटाङ । खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यु हेलिकप्टर बुधवार मध्यान्हको समयमा दुर्घटनाग्रस्त भयो । काठमान्डौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी गाउँपालिका २ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् । काठमान्डौं घर भएका काजिबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको केपिलासगढी गाउँपालिका–२ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिए ।
वडाध्यक्ष राईकाअनुसार हेलिकप्टरमा नागमणि राईका आफन्तहरू सवार थिए । उनकी श्रीमती मनमछि राईको युकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो ।
शव भोलि मात्रै खोटाङ आइपुग्ने जानकारी परिवारका सदस्यबाट आफूले पाएको वडाध्यक्ष राईले बताए । हेलिकप्टरमा नागमणि राईसहित उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र काजुबहादुर राई सवार थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि काठमान्डौंबाट खोटाङ उडेको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पल्टिएर दुर्घटनामा परेको जनाइएको छ । एक जना सामान्य घाइते हुनु बाहेक चालक दल र अन्य यात्रुहरू सुरक्षित रहेको क्यानले जारी गरेको सूचनामा उल्लेख छ । घाइते काजिबहादुरलाई कम्पनीको अर्को हेलिकप्टरमार्फत उद्दार गरी काठमान्डौं ल्याइएको पनि क्यानले जनाएको छ ।






