इन्धन बचाउन काठमाडौंमा ‘कार पुलिङ’ कार्यक्रम : कर्मचारीले आफ्नो क्षेत्रका साथीलाई अफिस ल्याउने, लाने !

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीहरूलाई उपलब्ध गराएको सवारी साधन आलोपालो चलाउन प्रणाली ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

कार्याबाहक प्रमुख सुनिता डंगोलले इन्धन कटौतीपछि देखिएको समस्या समाधानका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको जानकारी दिइन् ।

इन्धन अभावबाट सिर्जना भएको अवस्था र यसले दीर्घकालमा पार्न सक्ने नकारात्मक प्रभाव घटाउन यस्तो निर्णय गरिएको डंगोलको भनाइ छ ।

‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ,’ उनले भनिन्, ‘यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । यसकारण इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएका हौं ।’

महानगरपालिकाले ४८ औं कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ । ‘कार पुलिङ’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरूको समूह बनाइएको छ ।

यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारी (कर्मचारी) लाई पनि कार्यालय ल्याउने र लाने गर्नुपर्छ । यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्ने महानगरपालिकाको विश्वास छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top