म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थालेको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।
उमेरले ७२ वर्ष पुगेकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको रु १५ लाखसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोगन भइरहेको छ । यस वर्ष उनको बारीमा रु १० लाखभन्दा बढीको सुन्तला फलेको छ ।
कर्णकुमारीले फलाएको सुन्तलाको दुई वर्षको कमाइबाट घर ठडिन्छ । सुन्तलाबाट पर्याप्त आम्दानी हुन थालेपछि उनको पहिलो रोजाइमा घर निर्माण परेको हो । यसअघि उनको कच्ची घर जीर्ण अवस्थामा रहेको थियो ।
श्रीमान्को निधनपछि जोत्ने हलगोरु र काम गर्ने खेताला खोज्न झन्झट लागेर सुन्तला खेती गरेकी कर्णकुमारीको बगैँचा अहिले पहेँलपुर छ । मकै, कोदो, गहुँजस्ता परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० वर्ष अगाडि सुन्तलाका केही थान बिरुवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर रु एक हजार ६०० कमाएकी थिइन् ।
सुन्तलाबाट एक सय, एक हजार हुँदै रु १५ लाखसम्म उनले बुझेकी छिन् । अहिले कर्णकुमारीको १० रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ ।






