सुकुम्बासीदेखि सीमा मुद्दासम्म सरकार असफल देखिएको प्रचण्डको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै पुराना सरकारभन्दा पनि पछि पर्ने हो कि भन्ने चिन्ता लागेको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले दुई तिहाइ हाराहारीको समर्थन प्राप्त सरकार गठन हुँदा जनतामा ठूलो आशा र अपेक्षा रहे पनि सरकार त्यसअनुसार अघि बढ्न नसकेको टिप्पणी गरे।

प्रचण्डले देशमा नयाँ र पुरानो राजनीतिक शक्तिबारे बहस भइरहे पनि सरकारका गतिविधिले जनअपेक्षा पूरा गर्न नसकेको बताए। उनका अनुसार सरकारका कामकारबाहीले सकारात्मकभन्दा नकारात्मक उदाहरणहरू थपिँदै गएका छन्।

उनले सुकुम्बासी समस्या, ट्रेड युनियन अधिकार, विद्यार्थीसँग सम्बन्धित विषय, नेपालको भौगोलिक सीमा तथा राष्ट्रिय स्वाधीनतासँग जोडिएका सवालमा सरकार प्रभावकारी देखिन नसकेको आरोप लगाए। यी विषयमा जनतामा झन् अन्योल र चिन्ता बढ्दै गएको उनको भनाइ थियो।

प्रचण्डले सरकारले राम्रो काम गर्ने अपेक्षा गरिरहेका बेला कतिपय गतिविधिले ‘पुराना भनिएका सरकारभन्दा पनि पछि पर्ने हो कि’ भन्ने चिन्ता पैदा भएको उल्लेख गर्दै सरकारलाई जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top