वादी समुदायको पहिलो मन्त्री सीता, यस्तो छ उनको पृष्ठभूमि

काठमाडौं । अति सीमान्तकृत समुदाय वादीबाट नेपालमा पहिलो मन्त्री बनेको छ । बालेन क्याबिनेटबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बागडोर सम्हाल्न सुदूरपश्चिमकी सीता वादी आएकी हुन् ।

उनको घर कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ हो । हाल उनी काठमाडौंको बुढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी थिइन् ।

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएकी वादीलाई मन्त्री बनाइएको छ । वादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत वर्गमा पर्छ ।

जुन राज्यको नजरबाट सधैँ ओझेलमा परिरह्यो । भेरी नदी किनारमा बालुवा बोक्दै जीविकोपार्जन गर्ने परिवारमा हुर्किएकी उनले कहिले किताब किन्न पैसा पाइनन्, कहिले बस्ने ठाउँको अभाव झेलिन्, त कहिले पेट र पढाइबिच एक रोज्नुपर्ने बाध्यता आइपर्‍यो ।

तर यिनै कठिनाइले उनलाई रोकेन, बरु अझ बलियो बनाउँदै ल्यायो । १३ वर्षको उमेरमा एउटा संस्थाले उनलाई शिक्षाको अवसर दियो, जसले उनको जीवनमा अर्कै मोड ल्याइदियो । त्यहीँबाट उनले आत्मसम्मानसहित बाँच्ने आधार पाइन् ।

पढ्दै जाँदा उनीजस्तै पीडित बालबालिका र महिलाका लागि केही गर्ने भावना जाग्यो । परिवारबाट टाढा बसेर, अनेक सङ्घर्षबिच उनले समाजसेवामा स्नातक (बीएसडब्लू)को अध्ययन पूरा गरिन् । त्यसपछि स्नातकोत्तर उनले राजनीति शास्त्रमा गरिन ।

‘सुन्दर सहज नेपाल’ नामक संस्था स्थापना गरी बाल संरक्षण, शिक्षा र महिला आर्थिक सशक्तीकरणका क्षेत्रमा उनले थुप्रै काम गरिन् । त्यसैगरी, ‘वादी सस्टेन कम्पनी’ स्थापना गरेर उनले आर्थिक रूपमा पछाडि पारिएका समुदायका लागि दिगो जीविकोपार्जनको बाटो खोल्ने प्रयाससमेत गरिन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top