काठमाडौं । काठमाडौंको गोकर्णेश्वरस्थित जगडोलमा नेपालको अति सीमान्तकृत समुदाय माझीको संस्कार संस्कृति झल्किने स्थल बनाउन एक चरणको छलफल अघि बढेको छ ।
राष्ट्रिय तथा शान्ति पार्क निजामती स्मारक परिमार्जित गुरुयोजना तथा युनेस्को सङ्ग्रहालयको ग्राम निर्माण अन्तरगत माझी समुदायको लागि सांस्कृतिक पर्वको उपभोग गर्नको निम्ति स्थान उपलब्ध गराइने भएको हो ।
सुरुवाती चरणको छलफलमा बोल्दै राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड केन्द्रीय सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले गुरुयोजनाअन्तर्गत अति सीमान्तकृत माझी समुदायलाई आफ्नो संस्कृति झल्किने सामुदायिक स्थल बनाउन दिन आफू इच्छुक रहेको बताए ।

उनले भने ‘खुसी छु । हामीले जगडोलमा माझीहरूलाई वर्षमा एक पटक जग्गा उपयोग गर्न दिने हो, जग्गा दिने होइन । तपाईँहरूको तलाउ बनाउने, माछा पाल्ने कुराले मेरो मन छोयो ।’
उनले यसका लागि माझी महिला उत्थान संघलाई संस्थाको सदस्य बन्नुपर्ने र यसबापत अन्य प्रयोजनमा पनि ५० प्रतिशत छुट हुने बताए ।

छलफलमा बोल्दै नेपाल माझी महिला उत्थान संघकी अध्यक्ष होम कुमारी माझी (सिजिका)ले सो प्रस्ताव माझी समुदायको लागि ऐतिहासिक हुने धारणा राखिन ।

उनले भनिन्, ‘यो माझी समुदायको लागि राम्रो प्रस्ताव हो । हामीले काठमाडौंमै आफ्नो समुदायको संस्कार, संस्कृति झल्काउने स्थल बनाउन पाउँदैछौं । साथै त्यहाँ लदी पूजा पनि मनाउन पाउँछौँ ।’

छलफलमा नेपाल माझी उत्थान संघकी केन्द्रीय अध्यक्ष चिनीमाया माझी, माझी महिला उत्थान संघकी पुर्वअध्यक्ष रिता माझी, संघका पदाधिकारीलगायत समुदायका केही सक्रिय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

छलफलपश्चात् संघकी पुर्व अध्यक्षसमेत रहेकी चिनीमाया माझीलाई सम्मान पनि गरिएको थियो ।







