काँग्रेसले १० बुँदामा घोषणापत्र ल्याउँदैछ : महामन्त्री प्रदीप पौडेल  

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउनु नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रममा दलको तर्फबाट धारणा राख्दै राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका हुन् ।
दलहरूले लामा घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पुरा नहुने भएकाले काँग्रेसले ‘१० बुँदामा घोषणापत्र’ ल्याउने पनि पौडेलले जानकारी दिए ।
‘कानुनको दायरामा बसेर नाफा कमाउनेहरूलाई हामीले दलालको ट्याग लगाउनु हुँदैन, यो भास्यको अन्त्य हुनुपर्छ । उनीहरूले रोजगारी सृजना र राज्यलाई तिर्ने कर ठुलो हुन्छ,’ पौडेले भने, ‘व्यवसायीले ठुलो मेहनतले पुँजी निर्माण गरेको हुन्छ । पुँजी निर्माणमा निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्छ ।’
पौडेलले सम्भाव्य क्षेत्रमा रोजगारी सृजना गर्ने खाका दलहरूका घोषणा पत्रमा हुनुपर्ने बताए । नयाँ क्षेत्रको पहिचान गरी अर्थतन्त्रमा ती क्षेत्रलाई जोड्ने योजना पनि घोषणा पत्रमा हुने उनको भनाइ छ ।
‘हामीले घोषणापत्रमा राख्ने कन्टेन्टको विषयमा सबैसँग छलफल गरेर राख्नुपर्छ । हामी सबैको सुझाव समेट्छौँ । छलफल चलाइरहेका छौँ,’ उनले भने, ‘हामीले स्थिरता चाहिन्छ भनेको आर्थिक विकासकै लागि हो । अब हामीले राम्रा आर्थिक मुद्दा ल्याएर प्रतिस्पर्धा गर्ने हो । गाली गरेर हैन ।’
राजनीतिक दलका कार्यक्रमका आधारमा जनताले मतदान गर्ने भन्दै आर्थिक दृष्टिकोणमा दलहरू स्पष्ट हुनुपर्ने र काँग्रेसले यसलाई आत्मसाथ गरेको बताए ।
‘यसअघिका घोषणा पत्रमा धेरै लेख्यौँ । हामीले कार्यान्वयन गर्न सकेनौँ । अब भनिएका गरिएका बाचा कार्यान्वयन हुनेगरी एजेन्डा आउँछन् । देशका लागि १० एजेन्डा भनेर नेपाली काँग्रेसले तयारी गरेको छ । हाम्रा सबै आशय यसैमा समेट्छौँ ।जनतालाई चित्तबुझनेगरी ल्याउँछौँ । हामी भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहान्छौं ।’
अर्थतन्त्रलाई डीजिटलाइजेसन गरेर मात्र भ्रष्टाचारको अन्त्य गर्न सकिने उनको भनाइ छ । प्रशासनिक संयन्त्र र तहगत सरकारका कामलाई पनि डिजिटलाइजेसन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top