काठमाडौं । विकासको नाममा बनाइएका हाइड्रोपावर, क्रसर र करेन्ट लगाएर माछा मार्ने प्रविधिले माझी समुदायमा असर परेको भन्दै नेपाल माझी महिला उत्थान संघका पदाधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका छ्न् ।
मंगलबार संघका पदाधिकारीहरूले आफ्नो समुदायको समस्या लिएर मन्त्री श्रेष्ठलाई भेटेका हुन् ।
भेटमा संघकी अध्यक्ष होम कुमारी माझी (सिजीका)ले विकासका नाममा जथाभाबी बनाइएको हाइड्रोपावर, क्रसरहरूले खोला किनारमा बस्ने माझी समुदायलाई मार परेको बताइन् ।
उनले भनिन्, ‘हामी विकास विरोधी होइनौँ, तर विकासका नाममा हामीलाई विस्थापित पार्ने, संस्कार संस्कृति र पहिचानबाट अलग्याउने भन्दा उचित व्यवस्थापन हुनपर्छ । हाइड्रोपावर, क्रसर र करेन्ट लगाएर माछा मार्ने प्रविधिले हाम्रो समुदायलाई धेरै असर परेको छ ।’
भेटमा मन्त्री श्रेष्ठ सकारात्मक देखिएका छन् । विकासका नाममा संस्कार संस्कृति नै मास्ने गरी निर्मम रुपमा क्रसर बनाइनु सम्बन्धित क्षेत्र, ठाउँ र समुदायको लागि न्यायोचित नहुने उनको भनाइ छ ।
उनले भने, ‘विकासका नाममा संस्कार संस्कृति नै मास्ने गरी आयोजनाहरू पारिनु र त्यसमा काम गरिनु सम्बन्धित ठाउँका लागि न्यायोचित हुँदैन । आज तपाईँहरूले आफ्नो गुनासो ल्याउनुभयो, यो राम्रो हो । यस विषयमा न्यायोचित विकल्प खोज्न सरकार सकारात्मक छ ।’
साथै, संघका पदाधिकारीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग पनि भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा संघले मन्त्रीवादीलाई माझी समुदायका महिलाहरूको विगत र वर्तमान अवस्थाबारे जानकारी गराएका छन् ।
मन्त्रीहरूसँग भेटवार्ता गर्न संघकी अध्यक्ष होम कुमारी माझी (सिजीका) निवर्तमान अध्यक्ष रिता माझी, कोषाध्यक्ष सावित्री माझी माझी, चलचित्र कर्मी संघकी महासचिव अमृता माझी गएका थिए ।






