शान्तिका लागि रुसलाई दबाब दिन जेलेन्स्कीको आग्रह

किभ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार हुन लागेको भेटमा शान्तिका लागि रुसलाई दबाब दिनुपर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

जेलेन्स्कीले बुधबार वक्तव्य जारी गर्दै रुसलाई दबाब दिएर शान्तिका लागि बाध्य पार्नुपर्ने बताएका हुन् ।

‘युक्रेन र हाम्रा साझेदार देशहरुले आफ्नो अनुभवलाई प्रयोग गर्नुपर्छ, जसले रुसको धोखाधडी रोक्न सकियोस्,’ जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हालसम्म रुस युद्ध अन्त्य गर्न कुनै तयारी गरिरहेको संकेत देखिएको छैन ।’ युक्रेन, अमेरिका, युरोप र अन्य देशहरु मिलेर काम गर्न सके रुसलाई शान्तिका लागि बाध्य पार्न सकिने पनि उनले उल्लेख गरेका छन् ।

यस्तै, युरोपेली नेता र राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग शुक्रबार अनलाइन वार्ता गर्ने भएका छन् । वार्तामा किभको हितलाई सम्मान हुने गरी रुसलाई सहमत गराउन युरोपेली नेताहरुलाई ट्रम्पलाई आग्रह गर्नेछन् । ट्रम्प र पुटिनबीचको वार्तामा रुस–युक्रेन युद्ध अन्त्यबारे छलफल हुने जनाइएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि युद्धरत एक पक्षलाई नै अलग राखेर गरिने कुनै पनि वार्ताले मान्यता नपाउने टिप्पणी गरेका थिए । अलास्का वार्ता हुनुअगावै विवादमा पर्न सक्ने देखिएपछि अमेरिका यतिबेला उक्त वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने प्रयासमा रहेको उपराष्ट्रपति जेडी भान्सले सोमबार बताएका थिए । किभको उपस्थितिका लागि युक्रेनका युरोपेली सहयोगीहरूले पनि निरन्तर दबाब दिइरहेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top