काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले विपद्का बेला सरकारको उद्धार तथा राहत व्यवस्थापन प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्री बालेन शाहको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै पुनले जाजरकोट, रोल्पा, बाग्लुङलगायत जिल्लामा विपद्पछि उद्धार कार्य पर्याप्त हुन नसकेको बताए। उनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धारका लागि सुर्खेतलाई केन्द्र बनाएर हेलिकप्टरलगायतका साधन तयारी अवस्थामा राख्ने गरिएको स्मरण गराए।
विपद्को समयमा एकातिर उद्धार र अर्कोतिर राहत वितरण गर्नुपर्ने अवस्था रहे पनि सरकारको प्राथमिकता त्यसअनुसार नदेखिएको उनको आरोप थियो।
‘डिजास्टर भएको छ, रेस्क्यू गर्नुपर्ने र राहत पुर्याउनुपर्ने अवस्था छ। तर एकजना मन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ अनि उहाँका लागि हेलिकप्टर पठाइन्छ,’ पुनले भने, ‘जनताको उद्धारमा काम हुँदैन, पुनर्स्थापनाका लागि काम हुँदैन।’
मन्त्रीहरू जिम्मेवार बन्न नसके राज्य सञ्चालनमै प्रश्न उठ्ने भन्दै पुनले सभामुखमार्फत प्रधानमन्त्री शाहलाई आफ्ना मन्त्रीहरूलाई नियन्त्रणमा राख्न आग्रह गरे।
‘यस्तो गैरजिम्मेवार ढंगले राज्य चल्न सक्छ ? सभामुख महोदयमार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु—आफ्ना मन्त्रीज्यूहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस्,’ उनले भने।
पुनले विपद् व्यवस्थापनमा सरकारले गरिरहेको कामबारे संसद्लाई जानकारी गराउन गृहमन्त्रीसँग मागसमेत गरे।
गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा मतदाताले विगतका प्रतिबद्धताको जवाफ खोज्ने गरेको उल्लेख गर्दै उनले सरकारको विपद् व्यवस्थापनप्रतिको प्राथमिकतामाथि प्रश्न उठाए।
उनले देशभर विपद्को अवस्था, उद्धार तथा राहतका लागि सरकारले गरिरहेको काम र आवश्यक स्रोतसाधन परिचालनबारे संसद्लाई स्पष्ट जानकारी गराउन माग गरे।






