देउवाको आह्वान– ‘प्रतिशोध होइन, मेलमिलापको बाटो रोजौं, राष्ट्रिय एकता मजबुत बनाऔं’

काठमाडौं । सिंगापुरमा थप उपचारपछि बिहीबार स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आपसी मतभेद, विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलाप र राष्ट्रिय एकताको बाटो रोज्न आह्वान गरेका छन्।
स्वदेश फर्किएलगत्तै देउवाले विगतका विभाजन र विद्वेषका घाउहरू निको पार्दै प्रतिशोधको बाटो त्यागेर मेलमिलापको मार्गमा अघि बढ्नुपर्ने बताएका छन्।

उनले आफूले जीवनभर राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको जनाउँदै बाँकी जीवन पनि देश, राष्ट्रियता र जनताको सर्वोत्तम हितमा समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्।
देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन्।

आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिकका रूपमा विनम्रता र समर्पणका साथ सेवा गर्न तयार रहेको जनाएका छन्।
उनले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै पार्टीलाई एकताबद्ध बनाएर अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राखेका छन्।
कांग्रेस कुनै व्यक्तिको इगोमा नभई जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने देउवाले बताएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top