काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३ हुने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै महासंघले जेठ १७ गते (आइतबार) देखि काठमाडौंमा महोत्सव सुरु हुने जानकारी दिएको हो ।
महोत्सव चाबहिलस्थित चलचित्र विकास बोर्डमा जेठ १७, १८ र १९ गतेसम्म आयोजना हुनेछ । महासंघका अनुसार नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषता बोकेको मुलुकमा आदिवासी जनजाति समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, सामुदायिक स्मृति र मौलिक कथनलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवका निर्देशक सागर केरूङले यस वर्षको महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम मात्र नभई सांस्कृतिक न्याय, आत्म-प्रतिनिधित्व, भाषिक पुनर्जागरण र औपनिवेशिकता विरुद्धको प्रतिरोध एवं सिनेमाटिक आन्दोलनको रूपमा प्रस्तुत हुने बताए ।

महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्रहरू प्रदर्शन गरिने बताइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष विश्वराज तामाङले लोप हुँदै गइरहेका आदिवासी जनजातिहरूको संस्कार, संस्कृति, भाषा जोगाउन यस्ता महोत्सवले निकै महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले महासंघलाई कार्यक्रम सफलताको शुभकामना दिँदै आफूहरूको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले आदिवासी जनजातिको नियमित रुपमा भइरहने एउटा मात्र कार्यक्रम इन्डीजिनियस फिल्म फेस्टिभल रहेको भन्दै प्रशंसा गरे । उनले चलचित्र बिकाउन आदिवासी समुदायको कथा उत्कृष्ट हुने धारणा राखे ।

त्यस्तै, सम्मेलनमा बोल्दै महासंघका निवर्तमान अध्यक्ष अमृत सुनुवारले आदिवासीको चलचित्रले बजारमा प्रचारप्रसार पुर्याउन नसकेको बताए । समुदायले बनाउने चलचित्र केवल व्यापारिक मात्र नभएर लोप हुन लागेको समुदायको अस्तित्व बचाउने प्रयास रहेको उनको भनाइ छ ।

उनले नेपालमा आदिवासी जनजातिकै कथामा बनेको चलचित्रले बजार चलेको भएता पनि उनीहरूको संस्कार संस्कृतिमा बनेका चलचित्रले हल नपाउने गुनासो गरे ।
उनले भने, ‘नेपालमा आदिवासी जनजातिकै कथामा बनेका चलचित्रहरूले बजार चलिरहेको छ तर आदिवासीले नै बनाएका मौलिक चलचित्रले हल पाउँदैन । जसको कारण भाषागत समस्या र नीतिगत त्रुटि हो उनले भने यो महोत्सवले समुदायको चलचित्र जगतमा नयाँ आयाम थपोस् अवार्डमै मात्र सीमित नहोस् ।’
महोत्सवमा कथानक चलचित्रतर्फ नेवारी चलचित्र ‘स्वयंगु’ (निर्देशक दिनेश लिङ्देन), गुरुङ चलचित्र ‘डल्स्यो रामरानी’ (निर्देशक जनक गुरुङ), तामाङ चलचित्र ‘ह्याङ तामाङ’ (निर्देशक निमा लामा) तथा मगर चलचित्र ‘दिलसरा’ (निर्देशक अशोक आले) प्रदर्शन गरिने भएको छ ।
लघु चलचित्रतर्फ ‘तहरसिङ’ (निर्देशक सागर केरूङ), ‘दुख्ला ग्याम’ (निर्देशक हुतबहादुर तामाङ), ‘निको पहिचान’ (निर्देशक बिपना तामाङ) र ‘लाहुरेनी’ (निर्देशक विशाल रोक्का मगर) प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
यसैगरी, वृत्तचित्र तथा एआई जेनेरेटेड विधामा समेत विशेष प्रस्तुति रहने महासंघले जनाएको छ।
महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलगायत विभिन्न विधामा प्रोत्साहन पुरस्कार र जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
तस्बिर :सामाजिक सञ्जाल






