काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंकै आधा उम्मेदवारले हालसम्म बैंक खाता खोलेका छैनन् ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैंक खाता खोलेको विवरण प्राप्त भएको काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

निर्वाचन आयोगले उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थाबाहेक अन्य माध्यमबाट खर्च गर्न, गराउन नहुने भनी राजनीतिक दललाई निर्देशन दिएको थियो । निर्वाचन आचारसंहितामै उक्त विषय उल्लेख गरिए पनि आधा उम्मेदवारले बैंक खाता खोलेका छैनन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि २५ हजार रूपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा वा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने भनी आइतबार फेरि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको बताए ।

आयोगले आदेश दिएमा खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण तथा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने पनि उनले जानकारी दिए ।

भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाख रूपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top