काठमाडौं । सुदूरपश्चिमको अल्लारे ठिटो । पढाइमा निकै अब्बल । तर, घरको र देशको स्थितिले दीपक बहादुर साउदलाई विदेश जाने बाटो देखायो । कक्षा ११ सम्म घरछेउकै विद्यालयमा पढेका उनलाई कोरियन भाषा पढेर कोरिया जाने बाध्यताको सपनाले यसरी गाँज्यो की उनी घर छाड्न बाध्य भए ।
विदेश गएर परिवार पाल्ने, आर्थिक स्थिति सुधार्ने सपनाले उनलाई डोर्याउँदै काठमाडौं ल्याइपुर्यायो । उनी काठमाडौंको कीर्तिपुरमा आफूजस्तै सपना पुरा गर्न आएका अन्य दुई साथीहरूसँग डेरामा बस्दै कोरियन भाषा पढ्दै थिए ।
देशमा व्याप्त भ्रष्ट्राचार र बेरोजगारीले नेपाली जनता अझ भनौँ, जेनजी पुस्ता अझ भनौँ दीपकजस्तै युवाहरू बेस्सरी चिढिएका थिए । अझै छन् । देशमै केही गर्छु भन्नेहरू पनि केही न केही रूपमा फ्रस्टेड छन् । नेताका भाषण र बुढ्यौलीको शासनले पिरोलिएका, छट्पटीएका युवालाई सोसल ‘मिडिया ब्यान्ड’वाला सरकारको निर्णयले आक्रामक बनाइदियो ।
कुरा गत भदौको हो । सोसल मिडियामा धेरै विकृति फैलिएको र सोसल मिडियाकै प्लेटफर्म फेसबुक, युट्युब लगायत २६ वटा एप नेपालमा दर्ता नभएको भन्दै सरकारले बन्द गरिदिएको थियो ।
सोसल मिडिया र इन्टरनेटकै दुनियाँमा जन्मिएर हुर्किएका युवा पुस्तालाई यो सह्य भएन । नेताका छोराछोरीको लाइफस्टाइल, उनीहरूको सम्पत्ति, बारम्बारको सत्ता शासन, भ्रष्ट्राचार लगायतका विविध कारण देखाउँदै आफ्नो फ्रस्टेसन पोख्न यो पुस्ताले विरोध प्रदर्शनको आह्वान गर्यो ।
नेपालका कति युवा फ्रस्टेड रहेछन् भन्ने कुराको प्रमाण गत भदौ २३ गते सडकमा उर्लिएका जेनजीको भीड लेनै प्रस्ट पारेको छ । त्यो बेला एक साताअघिदेखि टिकटकमा एकपछि अर्को युवाको फ्रस्टेसन, रिस, आवेग पोखिन थालेको थियो ।
ती भिडियोहरू व्यापक सेयर भए । यसअघि विदेशी देशहरूमा यस्तै विद्यार्थी युवाहरूको आन्दोलनले सत्ता पलट भएको घटनाको जानकार थिए दीपक र उनीजस्तै नेपालका जेनजी युवाहरू ।
सबैका साथ र समर्थनले अक्टोबर ८ अर्थात् वि।सं।२०८२ भदौ २३ गते काठमाडौंको भृकुटीमण्डपदेखि तीनकुनेसम्मको सडक जेनजीका भीडले भरियो ।
दुर्भाग्यवश, प्रदर्शनको केही छिनमै यी सडक रगताम्मे भए । छिनमै १९ जना जेनजीहरू सधैँका लागि अस्ताए । बर्सिएको गोलीले कैयौँ घाइते भए ।
यो घटनाले आम नेपालीमा आक्रोशको अर्को आगो बालिदियो अर्को दिन अर्थात् भदौ २४ गते आम जनसागर उर्लियो । बिहानैबाट जो जहाँ छ उसले त्यहीबाट सरकार विरुद्ध विद्रोह गर्यो । २४ गतेको घटनामा जेनजीसँगै सबै उमेर समूहका मानिसहरू सडकमा थिए । २३ गतेको घटनाले दीपकलाई रातभरि निन्द्रा परेन । उनी मात्र हैन त्यो रात सायदै नेपालीलाई निन्द्रा परेको थियो ।
भ्रष्टाचारको विरुद्ध आवाज उठाउन गएका आफूजस्तै साथीहरूको रगतले उनलाई एकै छिन चैन दिएन । २४ गते उनी आन्दोलनमा सरिक भए । तर, दुर्भाग्यवश आन्दोलनमा उत्रिएको केही छिनमै काठमाडौंको कालीमाटी क्षेत्रमा उनलाई प्रहरीको गोली लाग्यो ।
लगत्तै उनलाई साथीहरूले अस्पताल पुर्याए । अस्पतालमा पुर्याएपछि थाहा भयो उनलाई गोली लाग्दा आँखामा चोट लागेको थियो र उक्त गोलीले मस्तिष्कमा पनि ठूलो असर पर्यो । यसैको कारण चिकित्सकले उनको ब्रेन डेथ भएर मृत्यु भएको घोषणा गरे ।
ओभाएका छैनन् आमा लक्ष्मीका आँखा
घरमा २३ गतेको आन्दोलनमा मृत्यु भएका युवाहरूको घटनालाई मोबाइलमा हेरिरहेकी थिइन दीपकका आमा लक्ष्मी साउदले । कोरियन भाषा पढ्न काठमाडौं गएको आफ्नो अल्लारे छोरा पनि आन्दोलनमा जाला र उसलाई पनि केही होला भन्ने पिरलोले पिल्सिएकी लक्ष्मीले सोही रात अर्थात् २३ गतेको बेलुका छोरा दीपकलाई फोन गरेर आन्दोलनमा नजान भनेकी थिइन् ।
उनले छोरालाई कोठामै बस्न र बरु सकेसम्म घर फर्कन भनेकी थिइन् । किनकि अल्लारे उमेरको छोरा आफूसरहकै साथीहरू गुमाउँदा आक्रोशको रागले रापिएको होला भन्ने डर उनलाई थियो ।
उनी भन्छिन्, “मैले भनेको मानेको भए सायद मेरो छोरो हामीसँगै हुन्थ्यो होला” तर, दीपकले आफ्नो उमेर समूहका साथीहरूले दिएको बलिदान र देशमा व्याप्त भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुने इच्छा व्यक्त गर्दै आमासँग भनेका थिए, “यदि मेरा साथीहरू जान्छन् भने म पनि जानेछु । यसमा मलाई नरोक्नु आमा । आन्दोलनमा जाँदैमा मरिन्छ भन्ने पनि होइन ।”
आन्दोलनमा सहभागी भएसँगै भदौ २४ गते बेलुकीदेखि नै दीपक परिवारसँग सम्पर्क विहीन भए । उनको मोबाइलमा फोन लाग्न छाड्यो । आमा, भाउजू घरका सबै आत्तिए । देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र निर्मम सरकारको विरुद्ध आन्दोलन गर्न बिहान कोठाबाट निस्किएको छोरा सम्पर्क विहीन हुँदा आमा लक्ष्मी अतालिन थालिन ।
२४ गते राति लक्ष्मीलाई खबर आयो छोरालाई गोली लागेको छ अहिले हस्पिटलमा उपचार भइरहेको छ तर अवस्था नाजुक छ । लक्ष्मीलाई जुन कुराको डर थियो त्यही भयो दीपकको घरमा रुवाबासी चल्यो ।
जसोतसो सम्हालिएर छोरा ठिक हुने आसमा रात काटेकी आमाले २५ गते बिहानै अप्रत्याशित खबर सुन्न पर्यो । काठमाडौँबाट आएको फोनमा उनलाई भनियो तपाईँको छोरा दीपक साउद अब हामीमाझ रहेनन् । कोरिया गएर आफूलाई सुखसँग राख्ने आशा देखाएर घर छोडेको छोरा निर्जीव भएर घर फर्किँदै छ भन्ने कुरा पत्याउन लक्ष्मीलाई गाह्रो पर्यो ।
आन्दोलनको पहिलो दिन भदौ २३ गते साँझ आफ्नै छोरासँग अन्तिम संवाद गर्ने अवसर पाएकी आमा लक्ष्मी साउदका आँखा अझैसम्म ओभाएका छैनन् । छिमेकी र आफन्तले सान्त्वना दिन आउँदा पनि उनी सम्हालिन सक्दिनन् । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जना युवालाई शहीद घोषणा गरिसकेको छ, जसमा दीपक पनि एक हुन् ।
उनको परिवारको एउटै भनाइ छ, शहीद घोषणा मात्र पर्याप्त छैन उनीहरूले उठाएका माग पूरा गर्न सरकारको इच्छाशक्ति, राजनीतिक दल र नागरिक समाजलगायत सबै पक्षको सहयोग अपरिहार्य छ ।






