सुरु भयो छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव (तस्बिरहरू)

काठमाडौं । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सव काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आइतबारदेखि सुरु भएको हो ।
महोत्सवको औपचारिक उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी तथा विभिन्न आदिवासी समुदायका प्रतिनिधिहरूको उपस्थितिमा लामा गुरुहरूले गरेका थिए । उद्घाटन कार्यक्रममा विभिन्न आदिवासी तथा जनजातीय समुदायले आफ्ना मौलिक नृत्य र सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा भइरहेको महोत्सवले बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय नेपाली समाजभित्र रहेका आदिवासी जनजाति समुदायका स्मृति, इतिहास, पहिचान र अस्तित्वलाई उजागर गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
महोत्सव निर्देशक सागर केरुङले नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव चलचित्र प्रदर्शनको मात्र मञ्च नभई आदिवासी समुदायको भाषा, सांस्कृतिक स्मृति, भू–चेतना, पूर्वजसँगको सम्बन्ध तथा अस्तित्वलाई विश्वमञ्चमा स्थापित गर्ने महत्त्वपूर्ण सांस्कृतिक अभियान भएको बताए ।
उनका अनुसार महोत्सवले आदिवासी जनजाति समुदायको कला, संस्कार र पहिचानलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियता प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।
आदिवासी जनजाति चलचित्र महासङ्घका कार्यवाहक अध्यक्ष भुइसल लामाले आफ्नो समुदायका भाषा, संस्कृति र इतिहासलाई संरक्षण तथा प्रवर्द्धन गर्न महोत्सव महत्त्वपूर्ण माध्यम बनेको बताइन् ।
महोत्सवको उद्घाटन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस प्रकारका महोत्सवले मौलिक संस्कृतिको उजागर र पहिचान प्रवर्द्धनमा टेवा पुग्ने धारणा राखे ।
महोत्सवको पहिलो दिन रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रमुख राम मादेन, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद्का अध्यक्ष निमा लामा लगायत अन्य विशिष्ट अतिथिहरूले सहभागिता जनाएका थिए । त्यस्तै, आदिवासी जनजाति समुदायका मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top