बाँदर नियन्त्रण गर्न डमी बाघ बनाउनुपर्छ : सांसद न्यौपाने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद श्रीराम न्यौपानेले बाँदर आतंक नियन्त्रणका लागि ‘डमी बाघ’ प्रभावकारी उपाय हुन सक्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपानेले बाँदरका कारण किसानले अन्नबाली जोगाउन नसकेको समस्या गम्भीर बन्दै गएको उल्लेख गरे । उनले तनहुँका एक किसानको उदाहरण प्रस्तुत गर्दै डमी बाघको प्रयोगबाट सुन्तला खेती जोगाउन सफल भएको अनुभव संसदमा सुनाए ।

उनका अनुसार तनहुँ शुक्लागण्डकी–३ का किसान पहलसिंह गुरुङले १२ सय रुपैयाँमा किनेको डमी बाघ सुन्तला बगानमा राखेपछि दुई सिजनसम्म बाँदरबाट बाली जोगाउन सफल भएका थिए । ‘पहिलो वर्ष बाँदर आउँदै आएनन्, दोस्रो वर्ष दैनिक डमी बाघको स्थान सार्नुपरेको थियो,’ उनले भने ।

सांसद न्यौपानेले आधुनिक प्रविधिसहित डमी बाघ प्रणाली विकास गर्न सके बाँदर नियन्त्रण अझ प्रभावकारी बन्ने दाबी गरे । उनले चलायमान डमी बाघ, सेन्सरयुक्त गर्जन, बाघको गन्ध आउने सेन्ट र चम्किलो बत्ती जस्ता उपाय प्रयोग गर्न सकिने बताए ।

‘बाँदर मार्ने होइन, वैज्ञानिक र नयाँ ढंगले नियन्त्रण गर्ने हो,’ उनले संसदमा भने ।

सांसद न्यौपानेले सरकारसँग तत्काल राष्ट्रिय बाँदर व्यवस्थापन नीति ल्याउन, प्रभावित क्षेत्रलाई ‘विशेष बाँदर सुरक्षा क्षेत्र’ घोषणा गर्न तथा डमी बाघ प्रणालीसहित बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न माग गरे ।

उनले भारतलगायत अन्य मुलुकको अभ्यास अध्ययन गरी बाँदरको बन्ध्याकरण कार्यक्रम अघि बढाउन पनि सरकारलाई सुझाव दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top