काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)ले घरबासविहीन अवस्थामा पुगेका सुकुम्वासीहरूका प्रतिघरपरिवारलाई जेठ, असार र साउन महिनाका लागि १५र१५ हजारका दरले राहत दिने सरकारको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद गुरुप्रसाद बरालले उनीहरूले जीवन धान्न पनि नपुग्ने रकम भएकाले उक्त रकम बढाउन सरकारसँग माग गरेका हुन् ।
उनले अस्थायी बसोबासका लागि उनीहरूका प्रतिघरपरिवारलाई २५ हजारका दरले राहत दिने सरकारको निर्णयमा पनि आपत्ति जनाए । सरकारको यो निर्णय पनि सुकुम्वासीमाथिको ठूलो हमलाको रूपमा आएको उपाध्यक्ष बरालको जिकिर थियो ।
उनले भने ‘सरकार भन्छ, यो जेठ, असार र साउन तीन महिना तिमीहरूले १५/१५ हजार रुपैयाँ पाउनेछौँ । अर्थात् ५ जनाको परिवार हरेक सदस्यलाई ३ हजार अर्को अर्थमा भन्ने हो भने महिनाको एक सय रुपैयाँले दिनको एक सय रुपैयाँले कसरी एउटा परिवार काठमाडौँको आसपासमा बाँच्न सक्छ सभामुख महोदय । यो सुकुम्वासीमाथि गरिएको अत्यन्तै ठूलो अमानवीय हमला हो । अर्कोतर्फ सरकार भन्दै छ–एक मुष्ट २५ हजार दिन्छु अस्थायी बसोबासका लागि । सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए, त्यही थियो ।’
सांसद बरालले होल्डिङमा पनि सुकुम्वासीहरूलाई अमानवीय ढंगले राखेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।






