काठमाडौं । एमाले संसदीय दलको नेतामा युवा सांसद सुहाङ नेम्वाङले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले वर्तमान राजनीतिक परिस्थिति र जनभावनालाई ध्यानमा राख्दै दलको नेतामा आफूलाई प्रस्तुत गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा बोल्दै नेम्वाङले पार्टीको विधि, पद्धति र अग्रज नेताहरूको भूमिकाप्रति सम्मान व्यक्त गर्दै आफू जिम्मेवारी वहन गर्न तयार रहेको बताएका छन् । देशमा उत्पन्न वर्तमान परिस्थितिलाई नजरअन्दाज गर्न नहुने उनको भनाई छ ।
उनले आफ्नो दाबीलाई अग्रज नेतृत्व विरुद्धको प्रतिस्पर्धाका रूपमा नलिन आग्रह गर्दै वर्तमान आवश्यकताअनुसार युवाको ऊर्जा र अग्रजको अनुभवको संयोजन आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।






