काठमाडौं । आदिबासी समुदायको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ (नेफिन)को अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतदानको मत गणना आइतबार बिहान गरिएको थियो । मतगणनाको परिणामअनुसार ह्योल्मो अध्यक्षमा ३९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
महासंघका निवर्तमान महासचिव दिवस राईका अनुसार २१ सदस्यीय नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डिलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, ७ जना उपाध्यक्षहरुमा क्रमशः अमृतबहादुर सुनुवार ३७ मत, आङ पासाङ शेर्पा ४० मत, चन्द्रलाल राजभण्डारी ३५ मत, रामकुमारसिंह दनुवार ४२ मत ल्याएर निर्वाचित भएका हुन् । तीनजना उपाध्यक्ष चिनीमाया माझी, मनमाया छन्त्याल र जुनिता राई (शान्ति देवान) निर्विरोध निर्वाचित भए ।

सोहीअनुसार ८ जना सचिवमा क्रमशः महेन्द्र दुरा २४ मत, सन्तबहादुर चेपाङ २९ मत, शिवचन्द्र मण्डल २५ मत, शैलेन्द्रकुमार ताजपुरिया २४ मत, चकचकी राजवंशी ४१ मत, छेवाङ बुम्छोक गुरुङ २९ मत, जसवी मण्डल २२ मत, बीना मम्बा तामाङ २६ मत ल्याएर निर्वाचित भए ।
त्यस्तै, कोषाध्यक्षमा मिङमा कामी शेर्पाले २९ मत ल्याएर निर्वाचित भए भने सहकोषाध्यक्षमा प्रभातकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् ।







