अछाम । रामारोशन गाउँपालिकाको कार्यालयअगाडि विकास निर्माण र सुशासनसम्बन्धी माग राख्दै एक युवाले अनसन सुरु गरेका छन्। रामारोशन गाउँपालिका–५ तल्लो पातलका २४ वर्षीय तिलक बटालाले शुक्रबार साँझ ६ बजेदेखि आमरण अनसन सुरु गरेका हुन् ।
बटालाले तल्लोपातल सडक, आडेखाँद सडक र अल्लेडी सडक निर्माणको अवस्था स्पष्ट गर्न तथा पर्यटकीय जयगढ–रामारोशन सडक कालोपत्रे कार्य किन अलपत्र परेको हो भन्ने प्रश्न उठाउँदै माग सम्बोधन नभएसम्म अनसन नतोड्ने उनको भनाइ छ । तल्लो पातलमा सडक खै ? भन्दै तल्लोपातलबाट खाली खुट्टा हिँडेर पालिका पुगेर उनले अनसन सुरु गरेको हुन् ।
उनी “भोट चल्ने, सडक नचल्ने, मत लिँदा पुग्ने, सडक दिँदा किन नपुग्ने ?, मागेको भिक होइन, अधिकार हो, भ्रष्टाचारलाई जवाफदेही बना सरकार” जस्ता नारासहित अनसनमा बसेका छन् ।






