हुम्ला । रोजगारीका सिलसिलामा अन्यत्र रहेका हुम्लाबासी धमाधम गाउँ फर्किन थालेका छन् । दशैं सुरु भएसँगै यहाँका गाउँघरमा मानिसको चहलपहल बाक्लिएको छ ।
दशैं तिहार मनाउनका लागि हवाई र पैदल यात्राबाट हुम्ली दैनिक भित्रिन थालेपछि बर्खाका समयमा खाली हुँदै गएका गाउँ बस्ती यती बेला भने भरिन थालेका छन् । रोजगारीको सिलसिलामा जिल्ला बाहिर रहेका मात्रै नभएर अध्ययनका लागि काठमाडौं, पोखरा, सुर्खेत, नेपालगन्जलगायतका सहरमा रहेका विद्यार्थीसमेत दशैं मनाउन घर आएका कारण यति बेला विभिन्न बस्तीमा चहलपहल बढेको छ ।
यस वर्ष जिल्लामा सडक पुगेपछि दशैंमा घर आउनेको सङ्ख्या पहिलेभन्दा झन् बढ्न थालेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब निरीक्षक शंकर पोखरेलले बताए ।
कुबाडी प्रहरी चौकीलाई उद्धिर्त गर्दै यस वर्षको विगतको दशैंभन्दा हुम्ला आउने सवारीसाधनको सङ्ख्यामा वृद्धि भएको उनले बताए । गत वर्षमा केही मात्रामा मात्रै आउने गरेको भए पनि अहिले सडक आएपछि दशैंको फूलपातीअगाडि नै गाउँ भरिभराउ हुन थालेका छन् ।






